You are here
Home > अर्थ/बजार > ३३ किलो सुन प्रकरणमा फरार रहेका एक अभियुक्त दुबईमा पक्राउ

३३ किलो सुन प्रकरणमा फरार रहेका एक अभियुक्त दुबईमा पक्राउ

२९ आश्विन २०७५, सोमबार १३:४५

समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्।

श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको थियो। उनलाई आइतबार दिउँसो ३ बजेतिर काठमाडौँ ल्याएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
जिल्ला अदालत मोरङमा श्रेष्ठ विरुद्ध फरार अभियुक्तका रूपमा मुद्दा दायर भएको छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख गरिएको छ।

सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो। श्रेष्ठ सुन तस्करीसँगै हुन्डीको कारोबारीसमेत रहेको खुल्न आएको छ।

सुन प्रकरणमा जिल्ला अदालत मोरङको आदेश अनुसार थुनामा रहेका केही प्रहरीलाई भने उच्च अदालत विराटनगरले थुनामुक्त गर्न आदेश दिइसकेको छ।

यसअघिनै एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, पूर्वडिआइजी गोविन्द निरौला थुनामुक्त भइसकेका छन्।