You are here
Home > Front News > सिनर्जीको पाठ

सिनर्जीको पाठ

२८ मंसिर २०७४, बिहीबार ०९:१३

अनुरुप/नेपालन्यूज

 

नेपाली राजनीतिमा कठिन परिस्थितिबाट गुज्रिँदा पनि मरिगए पाठ नसिक्ने रोग सर्वाधिक खतर्नाक रोग हो । यही रोगले ग्रसित छन् यहाँका राजनीतिकर्मीहरु । यिनीहरुको लागि सबैभन्दा ठूलो गौँरो भनेको निर्वाचन हो । भर्खरै गुज्रिएको निर्वाचनले विभिन्न दलहरुलाई एक ठाउँबाट अर्को ठाउँसम्म हुत्त्याएर मिल्काइदिएको छ । हुत्तिँनुको हर्ष/पीडाले सबै दलहरु थला परेका छन् । थला पर्दापर्दै पनि बरबराइरहेका छन् : ‘म मात्रै जहाँकोतहीँ रहेछु अर्को त परै हुत्तिएछ नि !’ गगन थापा चिच्याइरहेका छन् : ‘आफ्नो दललाई सुधार गर्न अहिलेदेखि नै थालनी गर्नुपर्छ !’ आफूलाई परिपक्व ठान्ने काँग्रेसीजनहरु दुहाइ दिइरहेका छन् : ‘अहिल्यै किन चाहियो सुधार ? हेर्दै जाऊँ, हामी त ठीकै छौँ नि, जनताले हामीलाई नपत्याएका हुन् र ?’ योगेश भट्टराई चिच्याइरहेका छन् : ‘आफू हुत्तिनु अघिको धरातल त हेरौँ !’ आफूलाई सिद्धहस्त ठान्ने एमालेजनहरु ढाढस दिइरहेका छन् : ‘हामी त अजरअमर दिग्विजयी बिजेता हौँ । हामी सुध्रिनु किन पर्‍यो र ?’ जनार्दन भन्दैछन् : ‘कम्तीमा मजत्तिकै त जनताको मन जित्न सफल त होऊ तिमीहरु पनि !’ माकेजनहरु भन्दछन् : ‘आSS, के को टण्टा ? अब त पार्टी एकीकरण भैहाल्छ । अरुको मन जित्ने जिम्मा थोरै आफ्नो हो र अरुकै हो नि !’

काँग्रेसीजनहरु पर्खेर बसेका छन्, बाम एकता क्षणिक स्वार्थको लागि रचिएको चक्रब्यूह हो, यो निकट भविष्यमै आफसेआफ भताभुङ्ग हुनेछ । १८ महिनाभन्दा बढी यिनीहरुको गठबन्धन टिक्दै टिक्दैन । त्यसपछि त आफ्नै रजाइँ चल्नेछ । माकेजनहरु एमालेहरुलाई कोट्याउँदै भन्दैछन् : ‘तिमीहरुले पार्टी एकीकरण भनेको होइन र ? खोइ टारेको टारेइ छौ त ?’ एमालेहरु भन्दैछन् : ‘पर्ख, पर्ख, सरकार त गठन हुन देऊ । प्रदेश सरकार बन्नुपर्‍यो । सरकारले १०० दिन काट्नुपर्‍यो । १०० दिनले पुगेन भने ३६५ दिन पुग्नुपर्ला । त्यो पनि भएन भने अर्को चुनावको मुखैमा त एकीकरण भइहाल्छ नि !’ यसप्रकार सार्वजनिक रुपमा जोडतोडका साथ दिइने गरेका बामगठबन्धनका विरोधाभाषपूर्ण अभिव्यक्तिहरुले काँग्रेसीजनको हारको आलो पीडालाई मलहमपट्टी गरिरहेको हुनुपर्छ ।

सबैले स्पष्ट बुझेको कुरा के हो भने कम्युनिष्ट एकीकरण अनिवार्य त छ तर एकीकृत पार्टीभित्र पनि आफ्नो स्पेस कायम राख्न सबै नेतृत्वले जीवनपर्यन्त उत्तिकै जोडबल गरिरहनुपर्नेछ । गत चुनावमा माकेका सबै कार्यकर्ताहरु एमालेलाई जिताउन तनमनले ज्यानै अर्पिए, तर एमालेका कार्यकर्ताले मन जोगाएर तनले मात्रै साथ दिए । फलतः धेरै ठाउँमा प्रतिनिधिसभामा माकेका उम्मेदवारले पाएको मत त्यही क्षेत्रको प्रदेशसभाका एमालेको उम्मेदवारहरुको मतभन्दा कम देखिन गयो ।

पार्टी एकीकरण कुनै रामवाण होइन जसले गर्दा आफूले खर्चिनुपर्ने बुद्धि विवेक र ताकत स्वतः माथिबाट वर्षियोस् । एकीकरणपश्चात् साना दलहरु ठूलो दलको अझै हेलाँ र पेलानको चेपुवामा पर्नुपर्नेछ । बामदेव गौतमले अहिले हारेझैँ पछिपछिका आन्तरिक वा बाह्य चुनावहरुमा पनि पार्टीकै निर्देशनमा प्रभावशाली नेतृत्वले बनावटी हारको स्वाद बलजफ्ती घुटुघुटु पिउनुपर्नेछ । आफ्नो प्रभावलाई अरुभन्दा माथि पुर्‍याउन गेम थ्योरीको उपयोग सदाकाल भइनै रहनेछ ।

अहिले सार्वजनिक रुपमा आइरहेका अभिव्यक्तिहरुले के देखाइरहेका छन् भने एकीकरण खालि माकेको लागि मात्र हितमा छ । तसर्थ एमालेले कबोल गरेको अवधिलाई धकेल्दै धकेल्दै पर पुर्‍याउनुपर्नेछ । निर्वाचन अघि जोडिएको घाँटी के यति छिट्टै नजोडिने गरी पूर्वपश्चिम फर्किएको हो ? होइनभने किन आपसी सहमतिले एउटै अभिव्यक्ति जनसमक्ष आउँदैन ? के विरोधीहरुले चाहेको र बुझेको अनुसार नै अब पनि बामगठबन्धनबाट कदम अघि बढाइने हो ?

अर्को अनुभूत र सर्वज्ञात कुरा के हो भने ६०/४० को भागवण्डाले माकेलाई नै बढी फाइदा पुग्न गएको हो र पार्टी एकीकरण भए पनि माकेलाई नै फाइदा हुनेछ र गठबन्धनबाट बाहिर निस्किए पनि माकेलाई नै फाइदा पुग्नेछ । त्यसो हो भने माकेले नै किन एकीकरणको लागि रटान लगाइरहनुपर्ने ? के यो आवश्यकता एमालेजनको लागि होइन  ? जनताले सिद्धान्तमा मात्र होइन बोलीव्यवहारमा पनि जुटेको हेर्न लालायित छन् । तर विजयोन्मादले नै हुनुपर्छ दुवैतर्फबाट मगज खुस्केकाहरुकोझैँ सार्वजनिक अभिव्यक्ति आइरहेका छन् ।

समानुपातिक परिणामले पनि दलको हैसियतलाई खिसिट्यूरी गरिरहेको छ । एमाले र काँग्रेसको जनमतको अवस्थामा खासै फेरबदल आएको देखिँदैन । तर माओवादीको मत प्रतिशत केही घटेको देखिएको छ । यदि प्रत्यक्ष निर्वाचनको सिटलाई समानुपातिक मतअनुसार बाँड्ने हो भने एमालेले ५६ काँग्रेसले ५४ र माओवादीले २२ सिट मात्र पाउने थिए । अतः प्रत्यक्ष निर्वाचनतर्फ एमालेको र माकेको क्रमशः २४ र १४ सिट बढ्न पुगेको छ भने काँग्रेसको ३१ सिट घट्न पुगेको छ । एमालेलाई धेरै माथि पुर्‍याएर हात्तीको आकार दिनुमा माकेको ठूलो हात छ र माकेलाई पनि प्रत्यक्षतर्फ दोस्रो ठूलो दल तुल्याइदिनु एमालेको साथ छ । यही हात र साथको शिकारमा काँग्रेस पर्न गएको छ । यो अस्वाभाविक जस्तो लाग्ने घटबढको प्रभाव मुख्यतः गठबन्धनको प्रभाव हो । व्यवस्थापनको सिद्धान्तअन्तर्गत सिनर्जीको सिद्धान्तको कारणले गर्दा भएको हो । अर्थात जुट्दा र फुट्दा हुने प्रभाव हो यो । यो कुरा सबैले राम्रोसँग बुझ्नुपर्छ र माके र काँग्रेसले अझै राम्रोसँग पाठ सिक्नुपर्ने भएको छ ।

विजय मात्रै ठूलो कुरा होइन । विजयलाई अनुभूत गराउनसक्नु ठूलो कुरा हो । विजेता दलहरुले कसरी जनतालाई आफ्नो विजयको अनुभूति दिलाउँछन् त्यो हेर्न बाँकी नै छ । तर जजसले हारे उनीहरु अर्कोपटकको चुनावमा विजयप्राप्त गर्न र विजेताहरुबाट भएगरेका कामहरुलाई गलत सावित गर्न आक्रामक रुपमा प्रस्तुत हुनेछन् । त्यो भनेको विजेताहरुको लागि अर्को ठूलो चुनौती हुनेछ । विपक्षीहरुको लागि सबैभन्दा सजिलो उपाय भनेको फुटाऊ र राज गर भन्ने सिद्धान्त नै हो । उनीहरुले चाहे अनुसार फुट्ने कि जुटेर देखाउने भन्ने कुरा अहिलेका विजेताहरुको बुद्धि र विवेकमा भर पर्नेछ र यही विवेकले नै यिनीहरुको भविष्य पनि निर्धारण गरिदिनेछ ।