You are here
Home > Front News > साक्षर घोषणा गरिएको जिल्लामा नै अन्धविश्वास कुरीतिले जरा

साक्षर घोषणा गरिएको जिल्लामा नै अन्धविश्वास कुरीतिले जरा

४ मंसिर २०७५, मंगलवार १०:३१

रूपन्देही शैक्षिक क्षेत्रमा देशकै अग्रणी जिल्ला हो । केही समय पहिला रूपन्देही जिल्लालाई पूर्ण साक्षर घोषणा समेत भैसकेको छ । पूर्ण साक्षर घोषणा गरिएको जिल्लामा नै अन्धविश्वास कुरीतिले जरा गाडेको छ । रूपन्देहीमा बोक्सीको आरोप लगाउने ५ जनालाई प्रहरीले पक्राउ नै गरेर मुद्दा चलाएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –४ मा एकै परिवारका ३ जना पक्राउ परेका छन् । घरमा छोरी बिरामी भएको भन्दै छिमेकीलाई बोलाएर छोरीलाई बोक्सी लागेर बिरामी गराएको भन्दै कुटपिट गरेका उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–४ का टिकाराम आचार्य, कमला आचार्य र प्रतिज्ञा आचार्यलाई पक्राउ गरी मुद्दा अगाडि बढाएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लका अनुसार घरमा छोरी बिरामी भैरहने र छिमेकमा रहेका २ जना महिलालाई बोलाएर एकाएक बोक्सी को अरोप लगाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पीडित महिलालाई कुटपिट गरेपछि घटना बाहिर आएको र कुटपिट गर्ने परिवारका ३ जनालाई तत्काल पक्राउ गरी मुद्दा दायर गरिएको मल्लले जनाए ।
रूपन्देहीकै सैनामैना नगरपालिका– १ बाट पनि सोही आरोपमा २ जनालाई पक्राउ गरेको छ । घरमा परीवार कोही बिरामी भए छिमेकीलाई बोक्सी लाएर हो भन्दै हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सैनामैना नगरपालिका १ बस्ने खेतु मल्लाहा, प्रकाश मल्लाहा पक्राउ परेको प्रहरीले जनाएको छ । बोक्सी आरोपमा पक्राउ परेका ५ जनालाई बोक्सी आरोप अन्तर्गत जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको भन्दै बोक्सी आरोप ठहर भए ५ बर्ष कैद ५० हजार सम्म जरीवाना रहेको प्रहरीले जनाएको छ ।