You are here
Home > Front News > वैतरणी नदी पार गरिरहेका दलहरु

वैतरणी नदी पार गरिरहेका दलहरु

९ पुष २०७४, आईतवार १६:३३

अनुरुप/नेपालन्यूज

करिबकरिब सर्वसहमतिले जारी भएको नयाँ संविधानले समाजवादलाई परलोक मानेको छ । परलोक यसमानेमा कि कल्पना गरेअनुसारको समाजवाद इहलोकमा कहिले कतै पनि देखिएको छैन । नेपालका राजनीतिक दलहरुका चुनावको मुखैमा उद्घोषित घोषणापत्रहरुमा प्रायः सबैको गन्तव्य बिन्दू परलोक (समाजवाद) हुने भन्ने उल्लेखित भएको र संवैधानिक शब्दावलीहरु मार्फत पनि सोहीको स्तुति गान गाईएकोले तामझामपूर्ण, षडयन्त्रपूर्ण र कटुतापूर्ण जे भए पनि करिबकरिब सबै राजनीतिक दलहरुको वर्तमान यात्रा परलोकतिरकै हो भनी मान्न करै लाग्दछ ।

तर फसाद छ । परलोक पुग्नु अघि वैतरणी नदी तर्नैपर्ने हुन्छ । नेपालका राजनेताहरुले वैतरणी नदी यसरी धुमिल्याएका छन् कि गरुड पुराणमा वर्णित वैतरणी नदीभन्दा पनि बढी भयानक, पीडादायक र अत्यासपूर्ण छ । उक्त वैतरणी नदी राणान पर्वहरुदेखि लिएर शाहन काण्डहरुले रक्तरञ्जित छ । पञ्चायतन तथा प्रजातन्त्रपुनर्बहालीन विभिन्न आन्दोलनहरु र विशेषगरी माओवादी जनयुद्धन हत्था/निहत्थाहरुको हाडखोरले भरिएको छ । स्वदेशी कम र बढी विदेशी मलमुत्रले भरिएको छ । गणतन्त्रन जनताहरुको अपेक्षाको रापले यो नदी आगो उकेल्दै भकभकी उम्लिरहेको छ ।  नदी किनारभरि थुप्रै दलसंरक्षित क्रुरजन्तुहरु उग्राइरहेका छन् र यात्रीहरुका हड्डी चपाउन आतुर छन् । सुन्दैमा पिसाब तुर्काउने खालको वैतरणी नदीको बेलिबिस्तार कसैगरी पनि सुन्न चाहँदैनन् यी दलहरु ।

‘जहाँ समस्या, त्यहाँ उपाय’ भनेझैँ यस्तो भयानक नदीलाई सहजै पार गर्न सकिने गजबको उपाय पनि धार्मिक शास्त्रहरुमा उपलब्ध छ । जसअनुसार गाई खोजेर पुच्छर समातेमा सजिलै वैतरणी नदी पार गर्न सकिन्छ । तर कृषिपेशा नै आधुनिकीकरण र यान्त्रिकीकरण भइरहेको वर्तमान अवस्थामा गाईहरु खोज्नेबित्तिकै कहाँ पाउनु ? त्यसमा पनि झण्डै एकसय प्रकारका दलहरुका दशदश हजार राजनेताहरुको लागि करोडौँ गाई सबैको लागि एकैसाथ उपलब्ध हुने कुरै भएन । तसर्थ धार्मिक शास्त्रतिर नमूनाको लागि धातुको गाई बनाएर झारा टारिएझैँ दलशास्त्रमा दलहरुले नै आलोपालो गाई बनिदिएर वैतरणी नदी पार गर्ने प्रयत्नहरु विगतदेखि नै धमाधम हुँदै आएको छ । फलस्वरुप कहिले काँग्रेस गाई बनिदिन्छ र एमालेले उसको पुच्छर समात्छ । कहिले माओवादी गाई बनिदिन्छ र एमाले र काँग्रेसले उसको पुच्छर समात्न पुग्छन् । कहिले मधेशी दलहरु त कहिले पहाडी तथा हिमाली दलहरुले  गाईको भूमिका निभाइदिन्छन् र बाँकी दलहरु उसको पुच्छर समात्न पुग्छन् । तैपनि दलहरुलाई वैतरणी नदी पार गर्न हम्मेहम्मे परिरहेको छ ।

वैतरणी नदीको वारिपट्टि नै लुगलुग काँप्दै यो दुर्दशा प्रदर्शन गरिरहेका राजनेताहरुप्रति टिठको भावना पैदा भएर “तिमीहरु गठबन्धन गरेर आओ, हामी नदी पार गर्ने गरी बल प्रदान गरिदिन्छौँ” भनेर जनताहरुले सुझाए । फलस्वरुप एमाले-माओवादीले अलि बलियो खालको र काँग्रेस-राप्रपाले अलि लरतरो खालको गठबन्धन बनाएर जनतासामु प्रस्तुत भए । जनताले बलियोखालको एमाले-माओवादीको गठबन्धनलाई बल प्रदान गरेर ढुक्क भए कि अब यिनीहरुले कसैको पुच्छर समात्नुपर्ने छैन । तर विगतदेखि नै पालैपालो गाईको भूमिका निभाइरहेका दलहरुको बानी भन्नेबित्तिकै कहाँ फेरिन्थ्यो ? उता काँग्रेस भनिरहेको छः ‘मेरो पुच्छर नसमाते तिमीहरु कसरी तर्न सक्दारहेछौ ? हेरौँला !’  मधेशवादीहरुले मुख फोर्न यसकारणले बाँकी छ कि उसले मुख हातगोडा एकैपटक चलाउँछ । बाँकी रह्यो एमालेमाओवादीको कुरा । जनताले बहुमतको स्पष्ट बल दिइसकेपछि कम्तीमा पाँच वर्ष एउटैको नेतृत्वमा नदी पार गरेको हेर्न चाहन्छन् । तर कसैगरे पनि आँखा खुल्दैन बामहरुको । यिनीहरु अझै ‘कसले गाई बनेर पुच्छर ठड्याइदिने र कसले पुच्छर समातेर नदी तर्ने’ भन्ने किचलो झिकेर परलोक पुग्ने अमूल्य समय गुजारिरहेको देखेर जनता वाक्कदिक्क भैरहेका छन् ।

असल कर्मको आधारमा गाईको पुच्छर समात्न पाउनुसम्म धार्मिकशास्त्रले ठीकै मान्दछ । तर दलशास्त्रमा पुच्छर समातेर पुग्दैन । पुच्छर समात्नेहरुले पुच्छर समातिरहेका आफ्ना हात बिस्तारै पुच्छरको माथिमाथि सार्दै जान्छन् र कल्चौँडोको फाँचोसम्मै पुर्‍याउँदछन् । अनि सोच्दछन्, “ओहो, संविधान मात्र होइन, गरुड पुराण नै संशोधन गर्नुपर्छ कि क्या हो ?