You are here
Home > अर्थ/बजार > राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको छ

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको छ

१५ कार्तिक २०७५, बिहीबार १५:००

राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो ।

गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालयभित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी एक लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ ।

तीन वर्षमा देशभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिका तय गरेको छ । पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ ।

पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भए पनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिन्छ ।

नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ । त्यसैव्यवस्था अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि छपाईको काम सुरु गरेको हो । नागरिकको तथ्याङ्क संकलनका लागि केन्द्रले पाँचथर जिल्ला प्रशासन कार्यालयमा फिक्स स्टेशन र वडा वडामा मोबाइल स्टेशन खडा गरेको छ ।

वडा–वडामा परिचालन भएका २० वटा टोलीले संकलन गरी पठाएको विवरण सिंहदरबारस्थित सेन्टर सर्भरमा आएपछि केन्द्रीय अधिकारीले परीक्षण गरी कार्डमा भरिने विवरणलाई अन्तिम टुंगो लगाउँछन् । त्यसपछि पुन जिल्ला स्थित नागरिकको बायोमेट्रिक परीक्षणपश्चात मात्रै कार्ड वितरण गर्ने गरिन्छ ।

तीन वर्षभित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसँग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाई गर्न सक्ने क्षमताको एउटा मात्रै मेसिन छ ।

निर्धारित समय भित्रै कार्ड वितरण गर्नका लागि कम्तीमा प्रतिघण्टा ४ हजार कार्ड छाप्न सक्ने मेसिन १८ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मेसिनको क्षमता अभिवृद्धितर्फ लाग्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले बताउनुभयो ।