You are here
Home > Front News > म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायो | बाबु भन्छन्- अब त्यो झाँइलो पनि गएपछि परिवार कसरी पाल्ने?

म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायो | बाबु भन्छन्- अब त्यो झाँइलो पनि गएपछि परिवार कसरी पाल्ने?

१४ मंसिर २०७४, बिहीबार १४:५०

दाङ, मंसिर १३

मंगलबार  कांग्रेसले तुलसीपुरको अरनी मैदानमा बृहत चुनावी सभा गरेको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभपति शेरबहादुर देउवा तुलसीपुर आउँदै थिए।

सभास्थलको झन्डै डेढ सय मिटर पर बसपार्क जाने सडकमै  म्याद प्रहरी विनोद  चौधरी ड्यूटीमा थिए। दिउँसो साढे ३ बजे प्रधानमन्त्री चुनाव सभास्थलमा प्रवेश गर्दा मोटरसाइलकलमा आएका अज्ञात व्यक्तिले उनको छेउमा शंकास्पद वस्तु फालेर भागे। उनीहरूले फालेको त्यो चिज बम रहेछ।

केहीबेरमै ठूलो अावाजमा बम पड्कियो। २३ वर्षीय  चौधरीसहित ९ जना घाइते भए। गम्भीर घाइते भएका विनोदको उपचारका क्रममा बुधबार बिहानै साढे २ बजेतिर कोहलपुर मेडिकल कलेजमा मृत्यु भयो।

स्थानीय चुनावका  बेला म्यादी प्रहरीमा भर्ना भएका तुलसीपुर- १२का  चौधरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि फेरि भर्ना भएर तुलसीपुरमै  खटिएका थिए। घरको जोहो टार्न उनी दोस्रो पटक दोस्रो पटक म्यादी भएका थिए। उनको सपना थियो, बचेको पैसाले कुखुरा फर्म खोल्ने र त्यसको अाम्दानीले छोरीलाई राम्रो बोर्डिङमा पढाउने। अार्थिक अभावका कारण उनी अाफूले भने चाहेजति पढ्न पाएका थिएनन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी निवासी विनोदले व्यवस्थापनबाट कक्षा १२ पास गरे।

झन्डै चार वर्ष स्थानीय बोर्डिङ स्कुल र गाउँकै प्रावि स्कुलमा पढाएर १०+२ पुरा गरे पनि बाँकी अध्ययन सँगै घर व्यवहार पनि धान्नु पर्ने भएकाले राप्ती बबई क्याम्पसमा बिबिएस दोस्रो वर्ष पढ्दा पढ्दै पढाई छोडे।

करिब १० किमी दुरी साइकल पेलेर क्याम्पस पढेका उनको अगाडिको शैक्षिक यात्रा पूर्णविराम लाग्यो।

ढेड वर्षीय छोरीका बाबु चौधरीले तीन वर्षअघि घोराहीको वन घुस्रीबाट अञ्जनासँग मागि विवाह गरेका थिए।

१९ वर्षीया श्रीमतीसहित परिवारको पालन पोषण र छोरीलाई राम्रो शिक्षा दिलाउनु पर्ने बाध्यता विनोदमै थियो। परिवारका झाँइला सन्तान विनोदभन्दा माथिका राँइला दाजु जीतबहादुर चौधरी नेपाली प्रहरीका जागिरे हुन् र कान्छा भाइ अविवाहित छन्।

परिवारमा अलि पढे लेखेका विनोद भएकैले घर परपरिवारको बोझ उनैमा थियो। उनका सात भाइ र एउटी बहिनी  छन्।  बाबुआमासँग विनोद र तीन भाइ थिए।

‘उता बुढा बुआमाको उपचार गर्नु थियो, सानी छोरीलाई राम्रो स्कूलमा पढाउनु थियो र बेरोजगार भाइलाई विदेश पठाउने सपना पनि विनोदमा थियो,’ ३२ वर्षीय दाजु तेजबहादुर चौधरीले सेतोपाटीसँग भने,‘त्यसैले गर्दा पनि विनोद रकमकै जोहो गर्न दोस्रो पटक म्यादीमा भर्ना भएको हो।’

उनका ठूला बुवाका छोरा छवि चौधरीले भने म्यादीबाट आएको पैंसाले घरमै कुखुरा फार्म खोलेर छोरीलाई बोर्डिङमा पढाउँछु भनेरै भर्ना भएको बताए।

 

विनोदलाई शहिद घोषणा गराउन भूमिका खेल्छु– राज्मन्त्री चौधरी

श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले बम विस्फोटमा परि मृत्यु भएका विनोद चौधरीलाई शहिद घोषणा गराउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन्।

बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गीस्थित विनोद चौधरीको घर पुगेका चौधरीले पत्रकारसमक्ष यस्तो बाचा गरेका हुन्।

‘विनोदलाई शहिद घोषाणा गर्न र पीडित परिवारले राज्यमार्फत पाउने क्षतिपूर्ति जतिहुन्छ छिटो उपलब्ध गराउन म भूमिका खेल्नेछु,’ नेपाली काँग्रेसको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार चौधरीले आफूले उक्त सवालमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरिसकेको बताए।

‘क्यावनेट मिटिङ बसेर तत्काल विनोदलाई शहिद घोषणा गर्नुपर्छ र क्षतिपूर्ती वाफतको रकम तत्काल उपलब्ध गराउनुपर्छ भन्ने माग मैले गरेको छु,’ राज्यमन्त्री चौधरीले भने, ‘विनोदको परिवारलाई रोजगारी दिनुपर्छ भन्ने सम्मको कुरा मैले गरेको छु।’

आक्रोशित गाउँलेले विनोदका परिवार भेट्न दिएनन्

बुधवार बिहान झन्डै साढे १० बजेतिर विनोद चौधरीको घरमा पुग्ने सबैभन्दा पहिलो नेता र राज्यको तर्फ उच्च ओहोदाको व्यक्ति कांग्रेसका नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी नै थिए।

श्रम तथा रोजगार राज्यमन्त्री त्यहाँ पुग्दा विनोदको घरको आँगनमा केही स्थानीय जम्मा भएका थिए। तर, राज्य मन्त्री त्यहाँ पुगेपछि भने गाउँलेहरु जम्मा हुने क्रम बढ्न थाल्यो। त्यहाँ उपस्थित गाउँले उपचारमा लापरवाही भएको भन्दै विनोदका परिवारसँग श्रम तथा रोजगार राज्य मन्त्रीलाई भेट र संवाद नै गर्न दिएनन्। ‘विनोदलाई तत्काल हेलिकोप्टरवाट लगेको भए आज यस्तो दुःखद क्षण आउने थिएन। अत्याधिक रक्तस्रावकै कारण उस्को मृत्यु भयो,’ एक स्थानीयले बताए।

‘एउटै घटनाका घाइते कसैलाई एक घन्टा अगाडि रेफर गरेर बाँकेको नेपालगञ्ज पुर्‍याउने तर त्यही घटनाको गम्भीर घाइते विनोदलाई भने किन राप्ती अञ्चल अस्पतालमै राखियो?,’ उनीहरुले राज्य मन्त्रीसमक्ष प्रश्न गरेका थिए।

जवाफमा मन्त्री चौधरीले त्यो कुरा डाक्टरको तजविजमा भरपर्नै भन्दै विनोदको अवस्था गम्भीर थियो भन्ने जानकारी चिकित्सकबाट पाएको भए र उनलाई बचाउन हेलिकोप्टरवाट उद्धार गर्नुपर्छ भन्ने जानकारी पाएको भए आफूले जसरी पनि त्यसको व्यवस्था गर्ने जवाफ दिएका थिए।

‘मैले विनोदलाई सोधेको पनि हुँ। उहाँले खुट्टा र शरीरको विभिन्न भागमा दुःखेको छ भनेको भए पनि ठीकै छु, भन्ने जवाफ दिनु भएको थियो,’ श्रम राज्य मन्त्री चौधरीले भने।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलवार तुलसीपुरको अरनीको मैदानमा काँग्रेसले आयोजना गरेको चुनावी सभा स्थलमा प्रवेश गरे लगतै त्यसको नजिकै व्यस्त सडकमा अज्ञात समुहले बम विस्फोट गराएको थियो।

अधिँया जोतेर खान्छौः बाबु खुसीराम

 

विनोदका ६८ बर्षीय बाबु खुसीराम चौधरीले जमिन्दारको दुई विगाहा जति जग्गा जोतेर परिवार पाल्दै आएका छन्। ‘अरुको जग्गा जोतेर अधिँया बाफत आउने धानले परिवार पाल्दै आएको थिएँ,’– खुसीरामले गहभरी आँशु पार्दै भने, ‘उसको दाई प्रहरीमा छ। भाईले केही गर्दैन । सबै काममा सघाउने विनोद नै थियो। अब त्यो झाँईलो गएपछि परिवार कसरी पाल्ने?’

उनले तीन भाई र आफू बुढाबुढीसमेत गरेर जम्मा परिवारको जग्गा १० कठ्ठा जमिन मात्रै रहेको बताए। ‘त्यो जग्गाको अन्नले हामीलाई दुई महिना पनि खान पुग्दैन,’–चौधरीले भने

एआईजीले विनोदको शव दाङ ल्याउन रोकेको आरोप

बुधवार बिहान साढे २ बजे उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा विनोद चौधरीको मृत्यु भए पनि अझैंसम्म त्यहाँवाट शव हिँडाइएको छैन।

कोहलपुरस्थित मेडिकल कलेजबाट बुधबार दिउँसो साढे २ बजे विनोदका ठूला बुवाको छोरा छवि चौधरीले शव दाङस्थित घर लैजान अनुमति नदिएको बताए।

५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले विनोदका शव दाङ ल्याउन अनुमति नदिएको चौधरीले आरोप लगाए। ‘बिहान दाङ र बाँकेको सिडियो सापका बीचमा फोन भएपछि तपाईँहरूलाई जहाँ सजिलो हुन्छ त्यही पोष्ट मार्टम गरानुहोस् , तर त्यसका लागि बाँकेस्थित जिप्रकामा जानकारी गराउनुहोस भन्नुभयो । तर, हामी जिप्रका बाँके पुगेर उक्त जाहेरी दिँदा पनि अहिलेसम्म शव दिइएको छैन,’ छवि चौधरीले फोनमा भने।

तत्काल दाङमा विनोदको शव ल्याउँदा आक्रोशित स्थानीयले झनै लफडा गर्नसक्ने अनुमान लगाउँदै स्थिति केही सहज भएपछि शव ल्याउने मनिस्थितिमा प्रहरी रहेको तर्क गर्न थालिएको छ। त्यो सवालमा जानकारी लिन खोज्दा  एआईजी पुडासैनी कुरा गर्न मानेनन्।

नारायण खड्का