You are here
Home > साहित्य > माघी र कम्लरी

माघी र कम्लरी

११ मंसिर २०७४, सोमबार ०५:४६

बिष्णु श्रापित

शितलहर ओढेर
एउटा खुल्ला आकाशमुनी कम्लरी निदाइरहेछ………।

फेरि ,
यो हिउदमा
हिमाल चिसिएर
हिउँ जस्ता पानी
फांटका नदिहरुमा
निरन्तर बगिरहेछ
कम्लरिको भुब्रदार खुशिहरु
गाग्रीको आधा पानी जस्तै छछल्किरहेछ
यो माघी –
किन आइरहेछ –
उसलाई खुशी देखाएर
पीँजडामा फसाउन
किन उसको आफन्तिहरु
मनलाइ हलेदोमा घोलेर निसराँउ बाडिरहेछ्न……?
,सिँगो
शितलहर ओढेर
एउटा खुल्ला आकाशमुनी
कम्लरी निदाइरहेछ……।

भाचिएको मन
र ,
चुडिएको भेट्घाट जोड्ने
पर्व कहाँ रै’छर ?
यो मेला –
तन्नेरिहरुको सङ्लो प्रीती साट्ने
चौतारी काहा रै’छ र ?
यो माघी त –

बेघरबाट निम्छरो आमा बाबुको कलेजोको
कलेजोको टुक्राहरु
मालिकलाइ सुम्पने
अलिनो दिन पो रहेछ

दुई मुटुको निश्छल प्रेमलाइ
बेमेलको तीखो सुइरोले छेड्ने
घाउ जस्तो राप पो रहेछ ।
अाँगनभरी फ्याकिएका
खुशिको नअघाउने चारोहरु हेरेर
कम्लरी पिजडाभित्र रोइरहेछ
रातभरी निदाउने
जुन जस्तो जोबनहरु
बन्धकी बनाएर
कम्लरी आफै ओइलाइरहेछ ।
र त मलाइ भन्न मन लागिरहेछ
यो कस्तो माघी –
उसको स्वतन्त्र हातहरुलाइ
साङ्लोले वाँधीदिने
यो कस्तो हिँउद –
घामपानी सधै नजिकिएर
उसको तालु र पीँठ्यु डढाइदिने ।
सिङ्गो शितलहर ओढेर
एउटा खुल्ला आकश मुनि
कम्लरी निदाइरहेछ ।

यो माघी
साँच्ची उसैको लागि हो भने –
उसको उज्यालो सपनाहरुलाई
आकाशभरी खुल्ला छोडिदिनुपर्छ
र, उसको कलकलाउँदो रहरहरुलाइ
फाँटभरी फुल्न दिनुपर्छ
उसलाइ स्वतन्त्रताको निसराँउ बाड्नुपर्छ ।

यो माघी –
उसलाइ जुनि जुनि
मनाउन दिनुपर्छ
हे घिनलाग्दो मालिक हो !
तिम्रा जब्बर जोर अाँखाहरु
खोलेर हेर त
उ त्यो रात सङ्गै
शितलहर ओढेर
एउटा खुल्ला आकाश मुनि
कम्लरी निदाइरहेछ ।।