You are here
Home > Front News > बुटवल हर्न निषेधित क्षेत्र घोषणा

बुटवल हर्न निषेधित क्षेत्र घोषणा

१ मंसिर २०७५, शनिबार १०:४७

‍बजार क्षेत्रमा ध्वनी प्रदुषण नियन्त्रण गर्न बुटवल नगरलाई शनिबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिँदैछ। बुटवल उपमहानगरपालिकाको पश्चिम तिनाउ पुलदेखि पूर्वमा धागो कारखानासम्म तथा उत्तरमा सिद्धबाबादेखि दक्षिणमा राजमार्ग चौराहसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्न लागेको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सहरको सुन्दरता र पर्यटकहरुको आकर्षण बढाउन यस्तो निर्णय लिईएको बताए।

सुवेदीले पहिलो चरणमा शनिबारदेखि निश्चित समय दिएर प्रचारात्मक कार्यक्रम गर्ने, दोस्रो चरणमा दण्ड जरिवाना गरि हर्न निषेध पूर्ण परिपालना क्षेत्र घोषणा गर्ने र तेस्रो चरणमा विद्युत र टेलिफोनका पोलहरुमा लथालिंग अवस्थामा झुण्डिएका तारहरुलाई हटाउने तयारी गरिएको बताए।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले काठमाडौंमा गरिएको हर्न निषेध अभियानले सकारात्मक प्रभाव पारेको र चर्को ध्वनीका कारण मानव स्वास्थ्यमा समेत असर गर्ने भएकोले पनि हर्न निषेधित क्षेत्र घोषणा गर्न लागिएको जानकारी दिए।

उपमहानगरपालिकाको निर्णय पश्चात तोकिएका यी सीमाभित्र कुनै पनि सवारी साधनले प्रेसर हर्न र डिजिटल हर्न मात्र होईन कुनै पनि हर्न बजाउन पाउने छैनन्।

तर उपमहानगरपालिका र ट्राफिक प्रहरीको यो तयारीलाई अन्य सरोकारवालाले भने बाटो तयार नगरी फड्के मार्न खोजेको संज्ञा दिए। अधिवक्ता बाबुराम पाण्डेले यो अभियान सकारात्मक भए पनि यस पहिले गर्नुपर्ने कामहरु नगरी हर्न निषेध घोषणा गर्न हतार गरिएको बताए।

उनले बुटवल बजार र सडक क्षेत्रको सबैभन्दा ठूलो समस्या विद्युतीय रिक्सा र फुटपाथ अतिक्रमण भएको भन्दै पहिले यसलाई समाधान गर्नुपर्ने बताए। ‘मुख्य सडकमा ई-रिक्साको व्यवस्थापन नगरी, पैदल यात्रीलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था नगरी र सडक पेटीमा गरिने ठेला व्यवसाय तथा सवारी पार्किङलाई नहटाई हर्न निषेध घोषणा गर्नु बेमौसमी बाजा बजाउन जस्तै हो ।’

उपमहानगरपालिकाले सबैभन्दा पहिले सडक पार गर्ने जेब्राक्रस बनाउनुपर्ने र फुटपाथ अतिक्रमण हटाउनुपर्ने सुझाव दिए। ‘हामीलाई पहिले सडक पार गर्ने जेब्राक्रस चाहिएको छ, सहज आवतजावत गर्ने फुटपाथ चाहिएको छ, खुल्ला चाहिएको छ तबमात्र हर्न निषेध गर्ने अभियान सान्दर्भिक हुन सक्छ।’

यातायातको राजधानी मानिने बुटवलमा ३ वटा यातायात व्यवसायी संस्थाबाट करिव ५ हजार मझौला तथा ठूला सवारी साधन सञ्चालनमा छन् भने करिब २ हजार हाराहारी ई-रिक्साहरु चल्दै आएका छन्।

सवारी चालक अनुमती पत्र र रूट ईजाजत पत्र बिना सञ्चालनमा आएका ई-रिक्साको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय बुटवलका मुख्य सडकका यात्रुहरु सवारी जामको मारमा परेका छन्।

  • 7
    Shares