You are here
Home > राजनीति > बम पड्किरह्यो, भोट खसिरह्यो रोल्पामा ७० हजार मत खस्यो

बम पड्किरह्यो, भोट खसिरह्यो रोल्पामा ७० हजार मत खस्यो

१० मंसिर २०७४, आईतवार ०९:४०

रोल्पा |

रोल्पा, १० मंसिर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा रोल्पाबाट ७० हजार मत खसेको छ । आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ७० हजार ३२१ जना मतदातालाई मतदान गरेका हुन् । यो कुल मतदाताको ५५.०९ प्रतिशत हो ।

रोल्पामा १ लाख २७ हजार ६ सय मतदाता छन् । निर्वाचन विथोल्ने उद्देश्यले नेकपाका कार्यकर्ताहरुले ठाउँठाउँमा बम विस्फोट गराउँदा पनि मतदाताहरुले मतदानमा उत्साहजनक सहभागीता जनाए । रोल्पामा ८१ मतदान स्थलको एक सय ६० मतदान केन्द्रमा मतदान भएको थियो ।

बम विस्फोट हुँदा पनि थबाङमा मतदान रोकिएन नेकपाले नो भोट घोषणा गरेको थबाङमा आठ सय २२ जनाले मतदान गरेका छन् । थबाङमा नेकपाका कार्यकर्ताले निर्वाचन विथोल्ने उद्देश्यले शनिबार साँझदेखि आईतबार अपरान्हसम्म पटक पटक बम विस्फोट गराएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा ‘नो भोट’ गरेको थवाङवासीले उत्साहपुर्ण सहभागिता जनाए । नेकपाले मतदान गरे ११ गते तिमीहरुको लाश देख्नेछौ भन्ने धम्की दिएको भए तापनि मतदाताहरुले उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भए । थबाङमा वडा नं. १ को जनचछु बिबाङ केन्द्रमा दुई सय ७६ भोट र साविक गाविस भवन ठूलो गाउँ मतदान केन्द्रमा पाँच सय ४६ मत खसेको छ । रोल्पाका डाँडाकाडाँमा बम पड्किरहे आईतबार विहान मतदान सुरुहुनु अगावैदेखि रोल्पाको डाँडाकाँडामा मतदातालाई त्रसित पार्न नेकपाका कार्यकर्ताहरुले बम बिष्फोट गराए । बम विस्फोटले कुनै मानवीय क्षति भएको छैन ।
पश्चिम रोल्पाको सुकीदहगाउँपालिका वडा नं ४ पाखापानीमा बिहान ५, ६ र ७ बजे तीन पटक बम बिष्फोट भएको थियो । मतदान केन्द्रभन्दा २ किलोमिटर, ३ किलोमिटर र ४ किलोमिटरको दुरीमा गरी तीन पटक बम बिष्फोट भएको थियो । त्रीवेणीगाउँपालिकाको जुँगार आसपासमा दिउसो केही बम बिष्फोट भए तापनि समग्रमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको छ ।
कसले कहाँबाट गरे मतदान प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’लगायतका विभिन्न पार्टीका नेताहरुले आ–आफ्नो नामावली रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका अनन्तले रोल्पा नपा ७ माडीचौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
निवर्तमान सभामुख एवम् माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार ओनसरी घर्तीले पनि त्यहीं मतदान केन्द्रबाट मत हालिन् । माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार एवम पूर्वमन्त्री जयपुरी घर्तीले दुईखोलीगाउँपालिकाको राङसीबाट मतदान गरिन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् सिंचाई राज्यमन्त्री अमरसिंह पुनले सुकीदह गाउँपालिका ७ जायचौर राँकबाट मतदान गरे ।