You are here
Home > Front News > बढ्दै गरेको अपराध र न्यूनीकरणका उपायहरू

बढ्दै गरेको अपराध र न्यूनीकरणका उपायहरू

३ मंसिर २०७५, सोमबार १३:४३

पछिल्लो समय अखवारमा दिनहुँजसो बलात्कार, हत्याका खबर छापिने गरेका छन् । यसबाट अपराधिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ । किन अपराधिक घटनाहरू बढिरहेका छन् ? किन यसको रोकथाम हुन सकेन ? अपराधीलाई केले उत्प्रेरित गरिरहेको छ ? हामी सबैसामु प्रश्न तेर्सिएको छ ।

अपराध र अपराधिक घटनासँग सम्बन्धित सैद्धान्तिक तथ्यहरू धेरै छन् । सुक्ष्मरूपमा हेर्ने हो भने हरेक घटनामा कारण हुन्छन् । अपराधिक मानसिकतामा हुनुमा पनि कारणहरू छन्, जस्तै: सामाजिक वातावरण तथा मनोवैज्ञानिक, जैविक र पारिवारिक कारण ।

मनोविद् सिग्इलले अपराधलाई निर्णय गर्ने प्रकियाको कार्यका रूपमा वर्णन गरेका छन्, जसमा सम्भावित अभियुक्तले प्रारम्भिक गैर कानुनी फाइदाहरू तौलिन्छ । अपराधिक कार्यहरू प्रायः आवेगमा आएरभन्दा पनि सजाय पाउने सम्भावना कम भएको अवस्थामा वा कार्य सम्पादनमा कुनै अवरोध सिर्जना नहुने अवस्थामा बढी घट्छन् । त्यस्तै सम्भावित अभियुक्तले लक्ष्य चयन गर्न पनि निकै सजकता र चलाखी अपनाएका हुन्छन् ।

उदाहरणको लागि सम्भावित अभियुक्तलाई हाई सेक्युरिटी भएको ठाउँको मानिसलाई भन्दा सुनसान सडकमा हिँडिरहेको मानिसलाई लक्ष्य साँध्न निश्चितरूपमा सहज हुन्छ । त्यसो त हाई सेक्युरिटी अलर्ट भएको ठाउँहरूमा विश्वको अत्याधिक सुरक्षित मानिएका ठाउँहरूमा पनि अपराधिक घटनाहरू नघटेका होइनन् । तर, ती घटना तुलनात्मकरूपमा निकै कम र छुट्टै प्रवृत्तिका छन् ।

के अभियुक्तलाई कानुन र समाजको कुनै डर छैन ? अपराध गर्नुअघि वा गर्ने बेला अन्तर चेतनामा कुनै विवेक हुँदैन ? सायद, नहुने भएरै होला, दिनहुँजसो अपराधिक घटना हुने गरेको !

अन्तर चेतनामा कुनै विवेकको आवाज नहुनु देशको व्यवस्था, कानुन र अन्य संरचनासँग कुनै डर नहुनुमा समाजिक, राजनीतिक, आर्थिक आदि जे पनि कारण हुन सक्छ ।

देशमा धेरै चोटी राजनीतिक परिवर्तनहरू भए, हरेक परिवर्तनहरूमा जनताले ठूलै सास्ती भोगे । त्यससँगै बलिदान र त्याग गरे । जससँगै जनताका अपेक्षा पनि जोडिएका थिए । तर, ती अपेक्षा कुनै पनि राजनीतिक व्यवस्थाले पूरा गर्न सकेन । व्यवस्थाहरू फेरिए पनि कुरोको चुरो एउटै नै रह्यो । न अधिनायकवाद, चाकरीवाद, नातावाद, तथा कृपावादको अन्त्य भयो न त भ्रष्टाचार नियन्त्रण नै । देश उभोगतिमा कहिल्यै हिँडेन । आधारभूत आवश्यकतामा पनि जनताले राहत महसुस गर्न सकेनन् । सभ्य समाजको लागि पहल भएन, काइदा, कानुन र व्यवस्थाको पालना न्यून रह्यो । शिक्षा, रोजगारी, दक्ष र सबल जनशक्तिमा राज्य संचालनका संयन्त्र बलियो, निष्पक्ष, पारदर्शितामा परिचालित भएन । अन्ततः नैतिकता, नियम, कानुन, इमानदारिता, दक्षता अनि मानवता कमजोर भयो । फलस्वरूप अपराधिक क्रियाकलाप बढे । राजनीतिक अस्थिरता, गरिबी, अशिक्षा, बेरोजगारी, आक्रमकता, रिस नैराश्यताले जरो गाड्यो । र, अपराधिक क्रियाकलाप बढे । राज्य प्रणाली र समाजप्रति सर्वसाधारणको विश्वास रहेन ।

अपराधको मलजल गर्ने काम गरियो । अपराधी संरक्षण तथा राज्यद्वारा नागरिकप्रतिको असमान व्यवहारले अपराध बढ्न पुग्यो ।

मानिसका सिकाइ, भोगाइ, वातावरण र व्यक्तिगत गुणहरूबीचका अन्तरक्रियाले कुनै पनि मानव व्यवहारलाई निर्देशित गर्छ । र, व्यवहारहरू प्रायः अनुकूलता र प्रोत्साहनमा दोहरिन्छन् । त्यस्तै मानिस सामाजिक प्राणी भएकै कारण होला, स्वचालित वा स्वतःस्फूर्तरूपमा नियमकोे परिधिमा भन्दा पनि बनीबनाउ परिधि रुचाउँछ । र, त्यहि वातावरण अनुसार क्रियाकलाप निर्धारण गर्छ र अपराधिक घटनाहरू त्यतिखेर घट्छन्, जतिखेर अभियुक्तले अन्तरद्वन्द्वको विकल्पको रूपमा देख्छ ।

समाज दिनदिनै असुरक्षित बन्दैछ । पीडित विक्षिप्त, निरीह, र पीडादायी अवस्थामा बाँच्न बाध्य छन् । मानिसहरूले यस्तो अवस्था यथाशीघ्र सुधार्नुपर्छ । पीडितको हरेक पक्षसँगै मनोवैज्ञानिक पक्षहरूको आत्मसम्मान, फिलिङ अफ हेल्पलेसनेस लगायतका कुरालाई पनि ध्यान दिनुपर्छ । र, सम्बोधन हुनुपर्छ । हाम्रो राजनीतिक व्यवस्था तथा राज्य संचालनका संयन्त्र निष्पक्ष हुनुपर्छ । कानुन पालनामा कुनै विकल्प राखिनुहुँदैन ।

सँगसँगै शिक्षा, रोजगारी, दक्षता, वौद्धिकता, समानता र निष्पक्षतामा जरुरी पहल गर्न एउटा दबाबमूलक नागरिक अभियानका केही समयसम्म परिचालन गरेर, नैतिक शिक्षा र आत्मसुरक्षा जस्तो विषयलाई प्राथमिकता दिई पाठ्यक्रममा अनिवार्य गर्न सके अपराध रोकथाममा सहयोग गर्न सक्छ । त्यस्तै, बढी जोखिम क्षेत्रमा सुरक्षा बलको गस्ती तैनाथ गरेर, सम्बन्धित मोबाइल एप्सको विकास तथा प्रयोग गरेर, हटलाइन तथा सिसिटिभी क्यामेराको सही तथा उचित प्रयोगबाट अपराधिक घटनाहरू न्यूनीकरण हुन सक्छ ।
स्रोत:प्रसासन

  • 3
    Shares