You are here
Home > राजनीति > नेपालका प्रमले भारतको पोशाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरे :उपेन्द्र यादव !

नेपालका प्रमले भारतको पोशाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरे :उपेन्द्र यादव !

३१ बैशाख २०७५, सोमबार २२:००

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् ।

जानकी मन्दिरमा पूजा गर्नका लागि प्रम ओली र भारतका प्रम नरेन्द्र मोदीले एउटै रङ र बनावटको पोषाक लगाएका थिए । उक्त पोषाक भारतको राजस्थानी भएको भन्दै यादवले आलोचना गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले विगतमा तराई मधेशलाई गाली गर्ने ओलीको राष्ट्रियता नाङ्गिएको बताए ।

“त्यो मिथिलाको पोषाक होइन, मधेशको होइन, नेपालकै होइन । राजस्थानको हो । जुन टाउकोमा बाधिएको थियो नि, त्यो राजस्थानको ड्रेस हो । राजस्थान भारतमा पर्छ । खोक्रा राष्ट्रवादी कुरा गरेर हुँदैन ।” यादवले भने ।

“पोषाक जुनसुकै लगाउनुस्, तर खोक्रो राष्ट्रवादको ढ्वाङ नपिट्नुस् । वास्तविकतामा आउनुस् ।” यादवले ओलीलाई चुनौति दिए । मोदीसँगको आफ्नो भेटमा दुई देशबीचको मित्रता, नेपालको समृद्धि र विकास सम्बन्धमा कुराकानी भएको बताए ।

नेपालको समृद्धि र विकासमा भारतको समयोगसँगै परस्पर मित्रता र सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको यादवले बताए ।

“भारतका प्रधानमन्त्री मोदीले नेपालको लोकतन्त्र, शान्ति, समृद्धि र विकास नै चाहेको मैले पाएँ ।” यादवले भने । नेपाल–भारतबीचको सम्बन्ध अत्यन्तै राम्रो हुनुपर्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले आन्तरिक समस्या मोदीसमक्ष प्रकट गरेको भन्ने आरोपको यादवले खण्डन गरे ।

“प्रदेश सरकारले आन्तरिक कुरा नै राख्ने हो । अन्तराष्ट्रिय कुरा राख्दैन । प्रदेश नम्बर दुईमा केन्द्र सरकारले अति नै गरेको छ ।” यादवले भने ।

मोदीको स्वागतमा केन्द्र सरकारबाट चारजना मन्त्री पठाएर प्रदेश सरकारको अधिकार खोसेको उनको आरोप छ ।