You are here
Home > अर्थ/बजार > ‘द्रुत मार्ग’ झन् छोट्टिने, डीपीआर अध्ययन अन्तिम चरणमा

‘द्रुत मार्ग’ झन् छोट्टिने, डीपीआर अध्ययन अन्तिम चरणमा

२० कार्तिक २०७४, सोमबार ०३:४३
 काठमाडौं |

नेपाली सेनालाई बनाउन जिम्मा दिइएको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी घट्ने भएको छ । विगतमा ७६ दशमलव २ किमि लामो बनाउने गरी प्रारम्भिक अध्ययन भएकोमा सैन्य टोलीले केही किमि छोट्याउने गरी प्रतिवेदन बनाउन लागेको हो ।

यसअघि निजी क्षेत्रले तयार पारेको अध्ययन प्रतिवेदनमा लम्बाइ बढाइएको र सुरुङ खन्दा हुने स्थानमा पनि सडक घुमाउने र पुल राख्न प्रस्ताव गरिएको भन्दै सेनाका प्राविधिकले यसमा पुनर्विचार गर्नुपर्ने जनाएको उच्च सैन्य स्रोतले बतायो । ‘केही किलोमिटर पक्कै घट्छ । अहिले यति नै भन्न सकिन्न, केही दिनमै प्रतिवेदन बुझाउँछौं,’ अध्ययनमा संलग्न एक अधिकारीले भने ।

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने दु्रुत मार्गको काम लिएसँगै सेनाले विभिन्न १० स्थानमा सुरक्षा बेस राखेर ट्रयाक अध्ययन अघि बढाएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएसले तय गरेको लम्बाइ सेनाका प्राविधिकले अध्ययन गर्दा घट्ने भएको हो ।

ट्रयाक सेनाले नै खोलेकाले आफ्ना प्राविधिकले गरेको स्थलगत अध्ययन निर्णायक हुने सेनाको दाबी छ । निजी कम्पनीले ‘गुगल म्याप’ लाई आधार बनाएर गरेको प्रारम्भिक अध्ययनमा सुधार गर्नुपर्ने सैन्य टोलीले ठहर्‍याएको छ । टोलीले केही दिनमै यस्तो सुझाव दिने अधिकारीहरूले बताए ।