You are here
Home > Front News > दशैं अवधिमा बुटवलमा झण्डै १ हजार ३ सय टन फलफूलको व्यापार

दशैं अवधिमा बुटवलमा झण्डै १ हजार ३ सय टन फलफूलको व्यापार

६ कार्तिक २०७५, मंगलवार ११:५४

दशैं अवधिमा बुटवलमा झण्डै १ हजार ३ सय टन फलफूलको व्यापार भएको छ। बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रबाट दशैंको घटस्थापनादेखि नहमीसम्म उक्त परिमाणमा फलफूलको व्यापार भएको हो ।

गत वर्षभन्दा यस वर्ष फलफूलको व्यापार बढेको केन्द्रले जनाएको छ। दशैंको समयमा माछा मासु, मिठाई, घ्यू,तेलसँगै फलफूलको कारोबार पनि बढी हुने व्यवसायीहरू बताउँछन्।

पछिल्लो समयमा माछा मासु, रोटी, मिठाईसँगै फलफूलको प्रयोगसमेत बढ्न थालेपछि व्यापार राम्रो भएको हो।

कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीले शहर बजारमा बसोबास गर्दै आएका व्यक्ति टिका लगाउन गाउँघर जाँदा कोशेलीको रुपमा फलफूल लैजाने गर्दा फलफूलको कारोबार बढेको बताउँछन्।

नवदुर्गा लागेपछि नहमीको दिनसम्म दैनिक ७० देखि ८० टन केरा र ३० देखि ४० टन स्याउ केन्द्रबाट बिक्रि बितरण भएको पन्थीले बताए। त्यस्तै अनार, अम्बा, मेवा, नरिवल, सुन्तला, मौसम लगायतका फलफूलसमेत अरु समयभन्दा दशैंमा धेरै विक्री भएका छन् ।

रकमको हिसाबले दशैंको ९ दिन दैनिक साढे दुई करोडको केरा र करिब ६ करोडको स्याउ विक्री भएको पन्थीले बताए। त्यस्तै अनार, सुन्तला, अम्बा, मौसमलगायतका फलफूल पनि दैनिक लाखौं रुपैयाको भित्रिने गरेको थियो। यसरी हेर्दा दैनिक करिब ९ करोडको फलफूल केन्द्रबाट बिक्रि भएको छ।

विगतका वर्षहरुमा ८० प्रतिशत भारतीय केराले दशैंको माग धानेकोमा यस वर्ष भने २० प्रतिशत केरा मात्र भारतबाट आयात भएको छ। पछिल्लो समय नेपालमा केरा उत्पादन बढ्दै गएपछि भारतीय केराको आयात पनि घटेको पन्थीले बताए।

स्याउ भने नेपालको उत्पादन नगण्य हुने गरेको छ। जुम्ला, मुस्ताङलगायत नेपालमा उत्पादित स्याउ दैनिक १५ देखि २० क्विन्टल मात्र केन्द्रमा आउने गरेको छ ।

२०६७ साल असोज महिनादेखि सञ्चालनमा आएको कृषि उपज थोक बजार केन्द्रमा वार्षिक ७ अर्बको फलफुलको कारोबार हुन्छ। नेपालमा फलफूल उत्पादनमा किसानलाई आकर्षित गर्न नसक्दा यहाँ कारोबार हुने फलफूलबाट मात्र साढे ५ अर्ब रुपैया वार्षिक बाहिरीने पन्थीले जानकारी दिए।

नेपाल भारत सीमाको बेलहियाबाट भित्रिने फलफूल देशका अधिकांश जिल्लामा यहि केन्द्रबाट पठाईने गरिन्छ।

  • 6
    Shares