You are here
Home > बिचार/अन्तरबार्ता > दम्पती नै उम्मेदवार

दम्पती नै उम्मेदवार

२१ कार्तिक २०७४, मंगलवार १६:५१

काठमाडौ |
दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् । तर, केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् ।

१० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न दलले श्रीमान्–श्रीमतीलाई नै उम्मेदवार बनाएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट र देउवा पत्नी आरजु राणा देउवाले कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै जना समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन् । खस आर्यतर्फ खाँणको नाम एक नम्बरमा छ भने मञ्जुकाे नाम खस आर्य महिलातर्फको पाँचौ नम्बरमा छ ।

एमाले उपाध्यक्ष बामदेव गौतम बर्दियाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । गौतम पत्नी तुलसा थापा समानुपातिकको सूचिमा छन् । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ–२ ‘क’ बाट प्रदेश सभाको उम्मेदवारी दिएका छन् । एमाले केन्द्रिय सदस्य तथा पोखरेल पत्नी सुजिता शाक्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा छन् ।

यस्तै एमाले केन्द्रिय सदस्य रघुवीर महासेठ धनुषा–४ मा प्रत्यक्षतर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् भने उनकी श्रीमती जुलीकुमारी महतो प्रतिनिधि सभामै समानुपातिक उम्मेदवार छन् । एमाले नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं–१० बाट उम्मेदवार छन् भने श्रेष्ठ पत्नी बिना समानुपातिक सूचिमा छन् । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका शेरबहादुर तामाङ र प्रदेश नम्बर १ बाट प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचिमा परेकी उषाकला राई पनि श्रीमान्–श्रीमती हुन ।

पूर्व सभामुख ओनसरी घर्ती मगर समानुपातिकबाट सांसद् बन्ने तयारीमा छन् भने उनका श्रीमान माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । पूर्व सभामुख घर्तीको नाम आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छ ।

प्रतिनिधि सभामा जाजरकोटबाट उम्मेदवारी दिएका माओवादी नेता शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभाकै समानुपातिकतर्फका उम्मेदवार सत्या पहाडी पनि श्रीमान श्रीमती हुन । दुवै पूर्व मन्त्री समेत हुन । रोल्पा ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।

माओवादी नेता देवप्रसाद गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट र पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिकतर्फबाट उम्मेदवार छन् । काठमाडौं–१० का माओवादी उम्मेदवार हितमान शाक्य र समानुपातिकतर्फका उम्मेदवार अमृता थापा मगर पनि श्रीमान्–श्रीमती हुन ।

नेकपा मालेका महासचिव सिपि (चन्द्र प्रकाश) मैनाली र उनका श्रीमती सिता केसी खड्का मैनाली दुबै समानुपातिकमा बसेका छन् । सिपिको नाम खस आर्यतर्फको तेस्रो र सिताको नाम खस आर्य महिलातर्फको तेस्रो नम्बरमा छ ।
हिमालखबर पत्रिका बाट