You are here
Home > Front News > तपाईँलाई मधुमेह रोग छ कि? कसरी जोगिने ?

तपाईँलाई मधुमेह रोग छ कि? कसरी जोगिने ?

२८ कार्तिक २०७५, बुधबार ११:१३

मधुमेह सरुवा रोग नभएपनि यसलाई पारिवारिक रोग भन्दा फरक पर्दैन । परिवारको एक सदस्यलाई मात्र पनि मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्दछ ।

परिवारको सम्पूर्ण सदस्यको जीवन शैली, खानपिन, एक आपसको सम्बन्ध, आर्थिक तथा मानसिक पक्षदेखि लिएर यावत कुराहरुमा प्रत्यक्ष असर देखिने डाक्टर अंशुमाली जोशीले बताए ।

उनका अनुसार परिवारको कुनै एकजनालाई प्रकार दुई मधुमेह भएमा अरु सदस्यलाई ढिलो चाँडो हुने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले प्रकार दुई मधुमेहलाई वंशाणुत रोग मानिन्छ ।

नेपालमा मधुमेहका बिरामीहरुमा २९ प्रतिशत लाई डिप्रेशन देखिएको छ । डिप्रेशनले मधुमेहमा झन नकारात्मक असर पार्न सक्दछ । यो हुन नदिन परिवारको ठूलो र प्रभावकारी भूमिका हुन सक्दछ ।

मधुमेहको जोखिममा हुने हुनाले सबैले आफ्नो जीवनशैलीमा परिवर्त ल्याउनु पर्ने डाक्टर जोशी बताउँछन् । घरको भान्सामा वन्ने परिकारहरु र खाने समय सबैको एकै किसिमको हुुनु जरुरी छ । क्यालोरी बढी भएको खानेकुराहरु जस्तैः अन्न, चिल्लोयुक्त खानेकुराहरु, चिनी र ग्लुकोजजन्य खानेकुराहरु, मैदाबाट बन्ने चिजहरुमा कमी ल्याउनु पर्दछ । रेसादार खानेकुराहरु जस्तै सागसब्जी, सलाद, फलफुल आदिको मात्रा बढाउनु पर्दछ । रातो मासुको खपतमा कमी ल्याउनु पर्दछ।

यी खानपिन सम्बन्धी व्यवहारहरु मधुमेहीहरुले मात्र होइन, परिवारका सबै सदस्यहरुले गर्न जरुरी छ। साथै मधुमेहीहरुसँग परिवारका परिवारका अन्य सदस्यहरुले पनि नियमित व्यायाम गरेर तौललाई नियन्त्रण गर्न जरुरी हुन्छ । परिवारका सबै सदस्यहरुले मधुमेहीसँग नियमित कुराकानी गर्ने, राम्रो र सुमधुर सम्बन्ध बनाइराख्ने र हौसल्ला दिईराख्नु पर्दछ । मधुमेहीहरुलाई सम्मान नगर्ने, दोष लगाउने, हिनताबोध गराउने काम कहिले पनि गर्नु हुँदैन ।

मधुमेहीहरुले भोग्नुपरेको समस्याहरुलाई सबै मिलेर समाधान गर्न पट्टि लाग्नु पर्दछ । डाक्टरको परीक्षणमा जाँदा परिवारका अन्य सदस्यहरु सँगै गएमा राम्रो हुन्छ । आफू पनि जोखिममा भएको हुनाले जोखिमबाट बच्न के के गर्नु पर्दछ भन्ने कुरा सिक्नु पर्दछ र मधुमेहका बिरामीहरुलाई दिने शिक्षा आफूले पनि अवलम्बन गर्नु पर्दछ ।

अहिले संसारभरि करीव ४२ करोड भन्दा वढी मधुमेहका बिरामी छन् र आउँदो २५ वर्षमा यो संख्या ६२ करोड भन्दा बढी पुग्ने आंकलन गरिएको छ । विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय डाइविटिज फेडेरेसन लगायत स्वास्थ्यसँग सम्बन्धित क्षेत्र मधुमेहको संख्या घटाउन पट्टि ध्यान केन्द्रित छ । मधुमेह लाग्नबाट वच्न सकिने हुनाले यो कुराको चेतना सबैतिर फैलाउन अत्यन्त जरुरी छ ।

मधुमेहको दीर्घकालीन उपचार महँगो छ । नियमित औषधि सेवन गर्नुपर्ने, औषधिको संख्या र मात्रा कालान्तरमा बढ्दै जाने, मधुमेह लामो समयसम्म नियन्त्रण नराखेमा यसले आँखाको रेटिनामा असर मुटुमा असर, पक्षघात हुने, मृगौला खराब हुने खुट्टाको घाउ निको नभएर खुट्टा काट्नु पर्ने अवस्था आएर उपचार झन महंगो पर्न जान सक्दछ । त्यसले गर्दा बिरामी तथा विरामीको परिवारलाई ठूलो आर्थिक भार कम पर्न सक्दछ । मधुमेहीहरुले मधुमेह लाग्यो भन्दैमा काम नगरी घरमै बस्ने गर्नु हुँदैन।

आफूले नियमित गरिराखेको काम जारी राख्नु पर्दछ । केवल उनीहरुले खानपिन सम्बन्धी अनुशासन जस्तैः समयमै खाने र मिलाएर खाने एवं नियमित व्यायाम गर्ने गरेमा आफ्नो जागिर छोड्नु पर्दैन । मधुमेहको विरामीहरुमा खाना समयमा नखाएमा वा अन्य कारणले कहिलेकाहीँ सुगर चाहिने भन्दा पनि कम हुन सक्दछ ।

यस्तो भएमा शरीरमा पसिना आउने,भोक लाग्ने, हात र जीउ काँम्ने, ढुकढुकी बढ्ने र कहिले काहीँ बेहोस भएर अचेत हुन पनि सक्दछ । यी लक्षणहरुको पहिचान परिवारको सवै सदस्यहरुले गर्न जरुरी हुन्छ । यी लक्षणहरु देखा परेमा तुरुन्तै ल्लुकोज पानी वा गुलियो पदार्थ दिइहाल्नु पर्दछ ।