You are here
Home > Front News > छठघाट सजावट: संस्कृति कि विकृति ?

छठघाट सजावट: संस्कृति कि विकृति ?

२६ कार्तिक २०७५, सोमबार १२:०१

आस्थाको पर्व छठ शुरु भएसँगै वीरगञ्जका मुख्य छठघाटहरूको तयारी पूरा भएको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि छठघाट जाने गरिन्छ ।

पछिल्ला वर्षहरुमा यस्ता छठघाटहरुको सजावटमा लाखौं खर्च गर्न थालिएको छ । छठघाटको १ डेढ सय मिटर परदेखि नै राखिने पण्डाल, झिलीमिली बत्तीलगायत सजावटका सामानमा लाखौं खर्च हुने गरेको हो ।

संस्कृतिविदको चिन्ता– आडम्बरपन बढ्यो

छठघाट सजावटमा तामझाम बढिरहेका बेला संस्कृतिविदहरुले भने आडम्बरपन बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मौलिकता भन्दा पनि देखासिकीपन हावी भएको र सजावटको नाममा अस्वस्थ प्रतिष्पर्धा बढेको उनीहरुको भनाइ छ ।

भोजपुरी भाषामा विद्यावारिधि गर्ने पहिलो नेपालीको रेडर्क बनाएका प्राध्यापक डाक्टर विश्वम्भर शर्मा भड्किलो सिंगारले मौलिकता लोप हुने खतरा बढेको बताउँछन् ।

‘छठघाट सिगार्नु भनेको छठघाट वरपरको सफाइ गर्नु, जलाशयलाई पवित्र बनाउन गरिने विभिन्न क्रियाकलाप हुन्थे’, शर्माले अनलाइनखबरसँग भने, ‘तर, अहिले सजावटका नाममा मौलिकता मासिँदै गएको छ ।’

परम्परागत रुपमा छठ पूजा साधारण ढंगले गरिने गरेको संस्कृतिविद् उमाशंकर द्विवेदी बताउँछन् । पछिल्लो समयमा छठमा वैभव प्रदर्शन गर्ने कुप्रथाको विकास हुँदै गएको  छ ।

 

  • 3
    Shares