You are here
Home > Front News > चाडबाडका धनी नेपालीहरूले अहिले मनाइरहेको दसैं धर्म हो कि संस्कृति ?

चाडबाडका धनी नेपालीहरूले अहिले मनाइरहेको दसैं धर्म हो कि संस्कृति ?

१ कार्तिक २०७५, बिहीबार १३:००

दसैं, बडादसैं, विजयादमी वा दशहरा नामले पुकारिने नेपालीहरूको चाड दसैं पर्वहरूमा सबैभन्दा प्रभावकारी र शक्तिशाली देखिएको छ । त्यसो त बहुधार्मिक, बहुजातीय र बहुभौगोलिक वा विविध स्थिति संरचनाको हाम्रो मुलुकमा सबै समुदायका बासिन्दाले आआफ्नो चाडलाई विशेषरुपले मनाउने र मान्ने कुरा सर्वस्वीकार्य छ । सांस्कृतिक पहिचान ग्रहण गरेका यस्ता धेरैजसो पर्व धार्मिक रुपसँग आबद्ध देखिन्छन् । तिनलाई प्राकृतिक महत्ता पनि दिनसकिन्छ । चाडबाडका धनी नेपालीहरूले अहिले मनाइरहेको दसैं धर्म हो कि संस्कृति ?

धर्म र संस्कृतिमा कति भिन्नता छ वा विश्वको सांस्कृतिक परम्परामा धर्म ईश्वरको मात्रै प्रतिच्छाया प्रभावी छ कि अन्य कारणले पनि संस्कृतिको उद्भव पाइन्छ ? धर्म के हो ? र संस्कृतिको स्रोत कहाँ छ ? धर्मका विविध परिभाषा छन् । आगोले पोल्नु र पानीले आगो निभाउनु वा चीसो पेय हुनु पानीको धर्म हो । यो बुझाइअन्तर्गत के कर्म नै धर्म हो त ?
धर्मलाई मानिसले आध्यात्मिक सोच र संस्कारसँग पनि जोडेको छ । यही क्रममा मानिसले पूजापाठ, मूर्ति संवरण, प्रार्थना आदिको विकास गरेको छ । यस्तो विकास कुनै एक दिनको उपलब्धि पक्कै होइन । सभ्यताको विकासका क्रममा हजारौं वर्ष पार गरेर धर्मको स्थापना र संस्कृतिको संस्कार बसेको हुनुपर्छ । आधुनिक विश्वको ठूलो जनसंख्यालाई अहिले पनि धर्मबाट निःसृत चिन्तनले निर्देशित गरेको छ । धर्म जुनसुकै होओस् तर त्यसले जति गहिरो र फराकिलो प्रभाव मानव समुदायमा अन्य कुनै चिन्तनले पारेको छैन ।
राजनीतिले राज्यहरू सञ्चालित छन् । तर, मनहरू बढी धर्म संस्कृतिबाट सञ्चालित हुने भेटिन्छ । विश्वका विकसित मुलुकमा चुनावी मतदानमा सहभागी हुनेबाहेक राजनीतिप्रति वास्ता नराख्ने ठूलो समुदाय छ । हाम्रोजस्तो अविकसित, खासगरी नेपालमा सबै वर्ग समुदायका मानिस राजनीतिप्रति गहिरो चासो र सक्रियता राख्छन् । तर, सबै होइन राजनीतिमा कुनै चासो राख्न नसक्ने परिश्रमी वर्ग पनि नेपाली समाजमा छ । अर्थात्, राजनीतिप्रति चासो नरहेको त्यो ठूलो समुदायलाई पनि धर्म संस्कृतिले गाँजेकै छ । राजनीति गर्नेहरू पनि धर्मभीरु छँदैछन् । धर्म के हो भन्ने प्रश्न एकातिर होला तर यहाँ पर्वले लिएको धार्मिक आस्थाको सांस्कृतिक रुपान्तरणलाई विवेचना गर्न खोजिएको हो ।
दसैंको आध्यात्मिक चेत देवी, दुर्गा, भगवतीसँग जोडिएको छ । यो पनि भौगोलिक प्रभाव र देवताको नामसँग समेत सम्बद्ध छ । नेपालको सन्दर्भमा दसैंलाई हिमाली, पहाडी र तराईतिर आआफ्नै प्रकारले रंग भरिएको छ । नारायणी पूर्व मिथिला क्षेत्रतिर दसैंमा देवीलाई महत्त्व दिएको पाइन्छ भने पश्चिम अवधतिर राम भगवान बढी मानिन्छन् । पहिले चारवटा दसैं थिए रे ! अहिले पनि चैते दसैं सामान्यतः मनाइन्छ र यसबेलाको नवमीलाई रामनवमी भनिन्छ । अर्थात्, चैते दसैं बढी रामभक्तिमा देखिन्छ ।
यसरी हेर्दा दसैं, यहाँ भन्न खोजिएको धर्मसँग दसैं जोडियो, तिहार जोडियो र हिन्दु आस्थाले प्रभाव परेका अधिकांश चाडबाड देवदेवीमा समर्पित रहे । रामलाई महापुरुष नै भनिएको छ । गीताजस्तो उत्कृष्ट दर्शनमा कृष्णले निर्देश गरेको कर्म, भक्ति र ज्ञान योगको पुट छ । कृष्णलाई पनि भगवान् मानिन्छ । कुनै दार्शनिक महापुरुष हुन् कि ? देवदेवी काल्पनिक हुन् कि, अलौकिक वा प्रभावशाली व्यक्तित्व ? यस प्रश्नमा व्यापक मत भिन्नता छ । यो रहँदै गर्छ तर यसको प्रभाव अस्वीकार्य चाहिेँ छैन ।
हिन्दु दर्शनले मात्र होइन, इस्लाम र क्रिस्चियन धर्म वा आस्थाले पनि पर्वलाई प्रभावित गरेको देखिन्छ । चाहे ईद, बकरिद नै भनियोस् अल्लाह(देवदूत), महम्मदसँग सम्बन्धित छन् । मक्का मदिनाको यात्रा धार्मिक भावले नै अनुप्राणित छ । इस्लाम संस्कारलाई धार्मिक आस्था र ईश्वरीय चिन्तनले गहिरोसँग प्रभावित गरेको छ ।
त्यस्तै क्रिसमस, क्रिस्चियन धर्मको प्रभाव त इस्वी (ख्रिष्टियन) सम्बत्मा समेत परेको छ । विक्रम सम्वत् भारत,राजस्थानको अत्यन्त बलशाली, उदार र जनप्रेमी राजाको नामसँग जोडियो । नेपाल सम्वत् दानी शंखधर शाक्ख्वाले प्रचलित गराए । इस्वी इसामहिससँग सम्बन्धित छ । क्रिसमस इसुसँगै जोडेर मनाइन्छ ।
वैशाख पूर्णीमा (चंण्डी पूर्णीमा–किरात,मगर आदि समुदायले मान्ने, वा गौडी पूर्णीमा– कुमाल, दरै समुदायले भन्ने र मान्ने) परम्परा बौद्ध, हिन्दु दुवै चिन्तनसँग मिश्रित देखिन्छ । धर्म, सम्प्रदाय र समुदाय संस्थापकहरूको चिन्तन अन्ततः धार्मिक आस्थासँग रुपान्तरित गरिएको छ । केही नयाँ वर्षहरूको कुरा भिन्न छ । उँभौली, उँधौली पनि प्रकृति पूजकहरूले प्रकृतिसँग जोडेका छन् र यसलाई भगवानकै स्वरुपमा पूजा गर्छन् ।
अरुलाई छोडौँ, यसरी हेर्दा हाम्रो नेपाली संस्कृति धर्मसँग अभिन्न छ । पहिले मानिस कस्तो थियो ? कस्तो वा नजानिएको संस्कारमा थियो होला । तर, धर्मको अनुभूति गर्न थालेपछि यसको रचना गर्यो र उसका संस्कारहरू धर्मले अनुप्राणित हुँदै आए । धर्म विस्तारित हुँदै गयो र धार्मिक कर्म परम्परा भयो । यही परम्पराले सांस्कृतिकरुप ग्रहण गर्यो । धर्मको फैलिएको वा तरल भएको सशक्त अवस्था नै संकृति हो ।
संस्कृति पहिचानको अंग बन्यो । हाम्रो संस्कृति नेपाली पहिचान बन्यो । प्रकृतिको पहिचान स्थूल वा मूर्त हुन्छ । संस्कृतिको पहिचान बढी अनुभूतिजन्य रहन्छ । पहिचान भनेकै प्रकृति, संस्कृति हो । मानिसको पहिचान पनि उसको रुप, रंग र बनोटमा देखिन्छ, यो प्रकृति हो । अर्को पहिचान संस्कारमा प्रतिविम्बित हुन्छ, संस्कार व्यवहारको ऐनामा देखिन्छ, संस्कार संस्कृतिको प्रभाव हो । एउटा राष्ट्रको पहिचान पनि यसरी वा यिनै माध्यमले निर्मित हुन्छ ।
अहिले पर्वहरूमा बढ्दै गएको तडकभडकप्रति चिन्ता व्यक्त भएको छ । यो चिन्ता स्वाभाविक भए पनि चिन्ताको जड गरिबीसँग छ । सक्नेले खर्च गर्दा केही बिगँ्रदैन । खर्च भिन्न हो र विकृति भिन्न हो । खर्चले पैसाको मुहान, चूहान सबै हुन्छ र खुल्छ । बजारमा पैसा पुग्छ । यसको चक्रीय लाभ छ । तर, चिन्ता सबै सक्ने नहुनु वा बन्न नसक्नु हो । चिन्ता यतातर्फ हुनुपर्छ र सबैलाई खर्च गर्नसक्ने बनाउने नीति, व्यबहार चाहिएको छ । ‘समाजवाद और आत्मघात’मा रजनीशले ‘‘मानिसलाई जत्रो बर्को छ, त्यसैमा खुम्चिन सिकाउनु हुँदैन, तर जत्रो चाहिन्छ त्यत्रै बर्को जोगाड गर्न सिकाउनु पर्छ ’’ भन्छन् । अर्थ नेपालीलाई खर्च गर्नसक्ने बनाउनु हो ।
दसैं सबैभन्दा प्रभावशाली नेपाली पर्व हो । यसबेला मालश्री धुन गुञ्जिनेमात्रै होइन, समग्र नेपाली समाजको धुन नै परिवर्तन हुन्छ । सामाजिक, आर्थिक र प्राकृतिकरुपले पनि दसैंंले धेरै प्रभाव राखेको छ । देवी मन्दिरहरू ( जसलाई शक्तिपीठ भनिन्छ ) मा श्रद्धालुहरूको पूजा अर्चनाले मानिसको दैनिकीमा नै फरक ल्याइदिएको हुन्छ ।

  • 2
    Shares