You are here
Home > राजनीति > कांग्रेसमा हिन्दूत्वको नारा महामन्त्री शशांकले बोके, सिटौला बन्दैछन् नयाँ नेता

कांग्रेसमा हिन्दूत्वको नारा महामन्त्री शशांकले बोके, सिटौला बन्दैछन् नयाँ नेता

५ भाद्र २०७५, मंगलवार १२:१५

काठमाडौं –नेता खुमबहादुर खड्कापछि सुस्ताएको नेपाली कांग्रेसभित्रको हिन्दूवादी कित्ताको नेतृत्व महामन्त्री डा. शशांक कोइरालाले गर्न थालेका छन् ।  पार्टी गणतन्त्रको कित्तामा उभिएका कारण कांग्रेसमा धर्म निरपेक्षताविरोधीहरू नेता खुमबहादुर खड्काको कित्तामा उभिएका थिए । खुमबहादुरले कांग्रेसका बहुमत सदस्यलाई हिन्दू धर्मका पक्षमा उभिनका लागि प्रेरित गरेका थिए । खुमबहादुरको निधनपछि सुस्ताएको धार्मिक कित्तालाई शशांकले नेतृत्व गर्न लागेका हुन् ।

धर्मविनाश, धार्मिक अतिक्रमण बढेको भन्दै मुलुकलाई हिन्दू धर्म सापेक्ष बनाउनका लागि जनमत संग्रह हुनुपर्ने शशांकको माग छ । उनले यसका लागि पार्टीभित्र र देशभरी हुने अभियानमा सहभागीता र सहयोग गर्ने पनि बताउन थालेका छन् ।

शशांकको अभियानमा कोइराला परिवारका अन्य नेताले पनि सहयोग गर्नेछन् । कांग्रेसका सुस्ताएको कोइराला कित्ताको उदयका लागि पनि शशांकले धार्मिक मुद्दालाई गुटको नेतृत्व र अनुकुलताका लागि प्रयोग गर्न लागेको बताइएको छ ।

स्रोतले भन्यो,‘महासमितिमा हिन्दू धर्मका पक्षधरताहरू धेरै रहेका कारणले पनि महामन्त्री यो मुद्दा बोकेर बैठकमा जान लागेका हुन् ।’
सभापति शेरबहादुर देउवाला अर्का नेता रामचन्द्र पौडेललाई चेपेपछि शशांक साइड लागेका थिए । तर उनले कांग्रेसभित्र फरक कित्ता बनाउने तयारी गरिसकेका छन् ।

उता, शशांकको अभियान चलिहरँदा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि गुटको नेतृत्वका लागि सक्रिय रहेका छन् ।
१३ औं महाधिवेशन पनि कोइराला क्याम्पको नेतृत्व रामचन्द्र पौडेलले गरेका थिए । अहिले पनि सभापति शेरबहादुर देउवासँग केही मागेजस्तो गरी गुटको भेलाका नाममा एकाध निर्णय गराए पनि पौडेलको घाँटी नेतृत्वसँग जोडिएको छ ।

कांग्रेसमा गुटको प्रभाव र हस्तक्षेप उसका भ्रातृ संगठनदेखि नै देखिन्छन् । युवा नेताको बलियो साथ पाएका सिटौलाको हस्तक्षेप प्रजातान्त्रिक धारका वकिलहरूको संगठन डिएलएबाट सुरु भएको छ । पौडेल पदका भोगी मात्र हुन् । उनीसँग संगठन वा गुटको नेतृत्व भन्दा पनि अवसरको नेतृत्व गर्ने प्रवित्ति हावी छ । नातावादको नाम्लोले डामिएका पौडेलको विकल्पका रूपमा कोइरालाहरूले पनि सिटौलालाई कांग्रेसको नेता मान्न बाध्य हुनुपर्ने देखिन्छ । कोइराला विरासतका अब्बल नेता मानिने डा. शेखर नै सिटौलाको क्याम्पलाई बलियो बनाउने अभियानमा रहेकाले सिटौला कित्ता नै अबको महाधिवेशनमा धक्का दिने कांग्रेसको बलियो आधार हो ।

कांग्रेसमा नेतृत्व परिवर्तनकै माग राख्ने प्रभावशाली नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, चन्द्र भण्डारीलगायत पनि सिटौलाको नेतृत्व मान्न तयार छन् । देउवासँग रुष्ट रहेका र सिटौलासँग नजिक हुन नसकेका विजय गच्छादारलगायतका नेता अनिर्णित छन् । तिनको व्यवस्थापनको आन्तरिक तयारी र कसरत पनि सिटौलाले थालेका छन् ।

देउवाले विजयकुमार गच्छादारलाई क्याम्पमा छिराउनेगरी कांग्रेसमा विलय गराए पनि उचित सम्मान र सद्भाव राख्न सकेका छैनन् । युवा नेताहरू गगनकुमार थापा, प्रदिप पौडेललगायतका नेताले पनि सिटौलाकै वकालत गरिरहेका कारणले कांग्रेसभित्र अबको केही समयमा सिटौलाको गुट बलियो नहुने आधार छैन । उनको प्रभाव हुनै लागेको महासमिति बैठकका क्रमले नै देखिने छ ।

यता, विमलेन्द्र निधिलाई उपसभापतिसहित कार्यबाहक सभापतिको जिम्मेबारी दिएर देउवा अघि बढेपछि विजयकुमार गच्छादारले कांग्रेसको थारु र मधेस कित्ताको फरक नेतृत्वको गृहकार्य गरेका छन् । देउवाले झुक्याएको र जिम्मेबारी नदिएको भन्दै उनले आफुनिकट कांग्रेस नेता कार्यकर्तासामु मधेसमा फरक कांग्रेस नेतृत्वको आवश्यकता रहेको बताउन थालेका छन् । निधि मधेसविरोधी भएको भन्ने अभियानअनुसारको छलफल उनले पार्टीभित्र चलाउने तयारी गरेका हुन् ।

  • 2
    Shares