You are here
Home > साहित्य > कविता: वनफूल

कविता: वनफूल

९ माघ २०७४, मंगलवार १६:५५

रिमा केसी

म यौटा वनफूल
छोपिएको छु झाडी, बुट्यानले
बाँधिएका छन् हात-गोडा

बाँधिएको छु सम्बन्धको कठोर जन्जिरमा
निमोठिदैछन् रहर, इच्छा या चाहना
आगोमा जलिरहेछन् सपना

जिउँदो छु म, तर प्राण छैन
सब छन् तर आफ्नै कोही छैनन्

जब सधैं,
आँखाको डिलबाट खसेको आँसु देख्ने कोही छैन !
फैलिएका छन् स्वार्थी लहराहरू पहराभरि
नाम नपाएको म जंगली फूल

सद्भाव देखाएझैं देखाउँछन् भँमराहरू
नजिक हुन्छन् केही पल
लुटिएको खुशी दिने भीष्मप्रतिज्ञा गर्छन्
सपना फिर्ता ल्याउने आश्वासन दिन्छन्
र आफैं गर्छन् आत्मदाह ….

मसित अंकुराएका आशाले गर्छन सँगै आत्महत्या
पानीको फोका झैं जब प्याट्ट फुट्छन बिजिगिषा !

यो शहरभरि समाचारमा फैलिन्छ
मैले बाँडेको प्रेम-रसमा भयानक बिष थियो

पहराको बिचमा बिताइरहेछु म कैदी जीवन
मलाई कुनै गुनासो छैन

सुगन्ध छर्न नसकेकोमा
आफ्नै नाम नपाएकोमा
दुनियाँले जे गरोस् मसित
सारालाई भनेर मर्छु-
‘प्रकृति, म तिम्रो पागल प्रेमी !’

म कसैको गमलामा फूल्न नसकेको
कसैको सुन्दर बगैंचामा नमुश्काएको फूल
हिलोमा फूलेपनि सुन्दर देखिन्छ कमल
म फुलेपछी नै बनको सौभाग्य खुल्छ
म वनफूल शीर्फ वनफूल !