You are here
Home > समाचार > आज प्रेस स्वतन्त्रता दिवस,”शक्तिको निगरानीः मिडिया,न्याय र विधिको शासन”-महासंघ

आज प्रेस स्वतन्त्रता दिवस,”शक्तिको निगरानीः मिडिया,न्याय र विधिको शासन”-महासंघ

२० बैशाख २०७५, बिहीबार १०:४२

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राजधानीमा आज(बिहीबार) प्रभातफेरी निकालिएको छ।

 

नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानीः मिडिया, न्याय र विधिको शासन’ भन्ने मूल नाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो। प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताए।

नयाँ कानून बनाउन लाग्दा धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाले त्यस्ता कानुन बनाउन लाग्दा सचेत हुनुपर्नेमा उनले जोड दिए। प्रेसलाई मर्यादित र जिम्मेवार बनाउन सञ्चारमाध्यमले आफै अनुगमन गर्नुपर्ने अध्यक्ष आचार्यले बताए।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख गरेपनि कार्यान्वयन गर्न ऐन कानुन बन्न नसकेको बताए।

प्रेस स्वतन्त्रताको अवस्था सुधारोन्मुख भएपनि अझै पत्रकारमाथि भौतिक आक्रमणका घटना नरोकिएको उनले बताए । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही नहँुदा दण्डहीनता बढेको बताए।

सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सम्मान अझै गर्न नसकेको दाहालले बताए। यसैगरी, महासंघको काठमाडौं शाखाको प्रभातफेरी पनि भृकुटीमण्डपबाट शुरु भएर माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वर पुगेको थियो।

कार्यक्रमको समापन गर्दै शाखा अध्यक्ष सन्तराम बिडारीले पत्रकारमाथि अहिले पनि भौतिक आक्रमण भइरहेकाले राज्यले पत्रकारलाई स्वतन्त्र भएर समाचार लेख्ने वातावरण बनाउन आग्रह गरे। प्रभातफेरीमा महासंघको भक्तपुर शाखा सहितका पत्रकारको उपस्थिति थियो। आज मे ३ तारिख विश्वभर नै प्रेस स्वतन्त्रता दिवस मनाइन्छ।रासस