You are here
Home > Front News > आज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै

आज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै

२२ कार्तिक २०७५, बिहीबार ०९:१६

आज गोबर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ ।

गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।

प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ ।

आजको दिनको अर्को महत्वपूर्ण सांस्कृतिक रौनक हो, देउँसी ! अनि तपाईको के छ त योजना ?

बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिक दस्ता जसलाई देउँसे भनिन्छ । यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउँसी हो ।