You are here
Home > साहित्य > अाेलि ज्युका कराेडका शब्दहरु,फेसबुक चलाउदा ध्यान दिने कि ?

अाेलि ज्युका कराेडका शब्दहरु,फेसबुक चलाउदा ध्यान दिने कि ?

२१ कार्तिक २०७४, मंगलवार १०:४२

आवरण-कुण्डबाहिरका एक मित्रलाई चिठ्ठी
…………………………
श्री बाग्मतीज्यू
नमस्ते ।

आफूसँग मित्रताको गाँठो कस्न चाहने अपरिचित व्यक्तिलाई योभन्दा बढी के सम्बोधन गर्नुपर्छ समझमा आएन । जम्काभेट हुनेबित्तिकै पृय, मित्र, सागरभन्दा गहिरो सम्झना आदि सम्बोधन गर्नु उचित जचेन । फेक आइडिले निम्त्याउने जटिलताप्रति सचेत हुलमा आफूलाई पनि हुल्दै तपाईँको फेसबुक फ्रेन्ड रिक्वेष्ट देख्नेबित्तिकै रिमुभ गर्न खोजेको हुँ, रिमुभ ट्यागमा औँला जानुको साटो आइडि ट्यागमा क्लिक हुन पुग्दा तपाईँको प्रोफायल खुल्नपुग्यो र म तुरुन्तै तपाईँप्रति आकर्षित भैहालेँ । मेरो जिज्ञासा तपाईँको फेसबुक टाइमलाइनमा पोष्ट गर्नखोज्दा तपाईँको प्राइभेसी सेक्युरिटीले छेकिहाल्यो । फलस्वरुप तपाईँलाई सम्बोधन गर्दै यो परिचयपत्र मेरै टाइमलाइनमा पोष्ट गर्दै छु झिँजो नमानी सबै पढिदिनुहोला ।
मलाई यसरी प्रोपोजलको रुपमा आएको रिक्वेष्ट ‘फेक-आइडि’ हो कि भन्ने संशयलाई तपाईँको वेल म्यानेज्ड प्रोफायलले बढारिदियो । तपाईँका फेसबुक मित्रहरु चारहजारभन्दा बढी नाघ्नु, ती मित्रहरु केही लब्ध प्रतिष्ठित राजनीतिज्ञहरु, केही विशिष्ट तहका कर्मचारीहरु, केही प्रसिद्ध साहित्यकार, गीतकार र कलाकर्मीहरु हुनु र तपाईँका स्टाटसमा उनीहरुको पोजिटिभ कमेन्ट देखिनु फेक आइडि होइन भन्ने कुरामा म विश्वस्त हुने आधारहरु भएकोले तपाईँको प्रोफायल अरु खोतल्न मन लाग्यो । मैले तपाईँका टाइमलाईन फोटो र प्रोफाइल फोटो हेरेँ । तपाईँको ठेगाना हेरेँ । प्रोफायल फोटोमा बाग्मती नदीको फोटो राखी आफ्नो लिङ्ग खुल्ने अनुहार छिपाउँदै ‘बाग्मती’ नामको आइडि राख्नु सन्देहास्पद छ । तपाईँ अहिले अष्ट्रेलियाको कुनै निजी व्यवसायमा व्यस्त रहेको तपाईँका स्टाटसहरु र कमेन्टहरुले बोल्दछन् । नेपालमा हुने सामाजिक आर्थिक र खासगरी राजनीतिक घटनाक्रममा तपाईँको तात्तातो चासो रहेको देखिन्छ भने विदेशिएका नेपालीहरुप्रति चरम सहानुभूति देखिन्छ । तपाईँका दैनिकजसो निरन्तर पोष्ट भइरहेका इन्स्पाइरेशनल कोट्स पनि मन छुने खालका रहेछन् । यसर्थ तपाईँका पेज भिवर्सहरु पनि उल्लेखनीय नै हुनुपर्छ ।
उल्लिखित कुराहरुबाट के देखिन्छ भने तपाईँलाई मित्रता बढाउनुपर्ने कुनै खाँचो छैन । तपाईँको मेलबक्समा पनि तपाईँलाई क्वालिटीलेस लागेका थुप्रै फ्रेन्ड रिक्वेष्टहरु ‘कन्फर्म’ अर ‘रिमुभ’ को प्रतिक्षामा थन्किरहेका होलान् ।
यति हुँदाहुँदै पनि ज्ञातवश् वा अज्ञातवश् तपाईँले मलाई फ्रेन्ड रिक्वेष्ट पठाउनुभयो । मित्रताको कसीमा कसिनु (रिक्वेष्ट एसेप्ट) गर्नुपूर्व मैले केही उदाहरणसहित आफ्नो परिचयपत्र तपाईँलाई पठाउनै पर्नेभयो ।
यस पत्रको सार हुनेछः तपाईँले जे सोचिरहनुभएको छ त्यो म हुँदै होइन ।
परिचय आवरणबाट शुरु गरौँ कि गुँदीबाट ?
पहिलो नजर आवरणमै पर्ने हुँदा आवरणबाटै शुरु गर्न उपयुक्त होला । फेसबुकको माध्यमबाट जति पनि जस्तोसुकै पेजहरु क्रियट गर्न सकिन्छ । साहित्यिक पेजको एक उदाहरण लिउँ । माथिपट्टि आलटाले मुक्तक राखेर तलपट्टि लिपिष्टिक पाउडरमा सज्जित षोडषा यौवनीको फोटो राखिएका पोष्टहरुमा 1.9 k Likes पुगेको जोसुकै फेसबुक युजरहरुले देखिरहेकै हुन्छन् । त्यो मुक्तकबाट फोटो हटाइदिने हो भने कति के लाइक पाउला ? “आवरण होइन गुँदी चिनौँ” भन्ने खालका सन्देश दिने जतिसुकै इन्स्पाइरेशनल कोट्स राखे पनि हामी फेसबुक युजरहरु फेसबुकमा यसकारणले लिप्त छौँ कि हाम्रा सकारात्मक दैनन्दिनीहरुलाई लत्याएर हामी आवरण (फेस) कै पछि आँखा चिम्लेर दिनरात नभनी डुबिरहेका छौँ । जुकरवर्गले यसको न्वारान गर्दाकै नाम त्यसैले Face Book राखेको हुनुपर्छ । जुकरवर्गले Books लाई नै सर्वाधिक डुबाउने कुरा ठान्थेहोलान् । हामीकहाँ सर्वाधिक डुबाउने कुरा भनेको कुवा हुन्छ । तसर्थ फेसबुकको नेपालीकरण “आवरण-कुण्ड” राख्नु यथोचित होला ।
……………………………………………………………
…………………………………………………………..
(रिक्त छोडिएको भाग सोदाहरण प्रसंग खण्ड हो । जिज्ञासा भए यस पत्रको पूर्ण पाठ purnaoli.com.np मा हेर्नसक्नुहुन्छ ।)
…………………………………………………………….
……………………………………………………………
उल्लिखित कुराहरु आवरणका कुरा हुन् । गुदीको कुरा अलि फरक छ ।
मैले मानवीय गुदी दुई प्रकारका देखेको छु ।
बूढापाकाले भन्ने गरेको कुरा एक हिसाबले ठीकै लाग्छ । उनीहरु भन्ने गर्दथे आङ धेरै खोस्रियो भने मल मात्र भेटिन्छ । यस हिसाबले म एकथैला मल बोक्ने भरिया हुँ । बाँकी अरुलाई पनि मल बोक्ने भरिया नै ठान्दछु । जसले जतिसुकै राम्रो भोटो लगाए पनि मच्छिन्द्रनाथको भोटो बाहेक अरुको भोटो संरक्षण गरेर प्रदर्शनी स्थलमा राखेको देखेसुनेको छैन । त्यस्तै पशुपन्छीको मल बाहेक मान्छेको मललाई पनि सर्वोत्कृष्ट, उत्कृष्ट, साधारण र निकृष्ट भनी वर्गीकरण गरेको र प्रदर्शनीमा राखेको सुनेको छैन । आवरणमा जो जसले म उच्च कोटीको हुँ भने पनि गुणस्तरीय मलका हिसाबले सबै मान्छे बराबर हौँ भन्ने ठान्दछु । प्रत्येकले बिसर्जनको गन्तव्यसम्मको लागि आफ्नो पेटको थैलीमा एक थुप्रो मल (गुहुमुत) बोकेकै हुन्छौँ । बरु उच्च कदवालाले उच्च परिमाणमा र निम्न कदवालाले थोरै परिमाणमा मल बोकेका हौँला वा थोरै आयु हुनेले थोरै समयसम्म र धेरै आयु हुनेले धेरै समयसम्म मलको भरिया बन्नु बाहेक अरु के पो गरेका छौँ र ?

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा पढाइ हुने एउटा मर्मश्पर्शी कथा छ । कुनै एक यात्रीका तीनजना मित्रहरु हुन्छन् । एकजना अत्यन्तै घनिष्ठ मित्र हुन्छ जसले जीवनभर एकछिन पनि साथ छोडेको हुँदैन । दोस्रो दिनदिनै भेट हुने र परिआउँदा काम लाग्ने मित्र हुन्छ । तेस्रोचाँहि कहिलेकाँहि भेट हुने तर तत्कालै महशुश नहुने र नदेखिने काममा सहयोग मात्र गर्ने मित्र हुन्छ । एकपटक त्यस यात्रीको लागि जीवनभरकै सबभन्दा ठूलो समस्या आइपर्छ । त्यस यात्रीले सबभन्दा पहिले घनिष्ठ मित्रलाई गुहार्छ । पहिलो मित्रले साथ दिन ठाडै अस्वीकार गरिदिन्छ । अनि त्यो यात्री दोस्रो मित्रकहाँ पुग्छ र साथ दिन आग्रह गर्छ । दोस्रो मित्रले ढोकासम्म जान साथ दिनसक्ने तर त्यसभन्दा पर साथ नदिने कुरा सुनाउँछ । दोस्रो साथीबाट पनि आफ्नो समस्या समाधान हुने नदेखेपछि त्यो यात्री मन नलागी नलागी तेस्रो साथीकहाँ पुग्छ र साथ दिन आग्रह गर्छ । तेस्रो मित्रले हरेक समस्यामा साथ दिन सहर्ष स्वीकार गर्दछ ।
तपाईँले बुझिसक्नुभयो होला । उल्लिखित यात्री भनेको ‘आत्मा’ हो । आत्माको कुनै रुप नहुनेभएकोले वर्गीकरण पनि सम्भव छैन । आत्माले यस संसारमा एक यात्रीको भूमिका निभाइरहेको हुन्छ । उसलाई अन्तिम समयमा संसारबाट विदा लिनुपर्ने हुन्छ । यो आत्मारुपी यात्रीमा आएको स्वाभाविक तर सर्वाधिक महत्त्वपूर्ण समस्या हो । आत्माको पहिलो मित्र भनेको उसको शरीर हो । तर यात्राको अन्तिम क्षणमा शरीरले साथ छोडिदिन्छ । दोस्रो मित्र भनेका नातागोता इष्टमित्र छरछिमेकी आदि हुन् । शरीर लम्पसार परिसकेपछि पनि उनीहरु घाटसम्म पुगेर साथ दिन्छन् । तेस्रो मित्र हाम्रो संस्कार हो । संस्कारले आत्मालाई अन्तिम समयपछि पनि साथ दिइरहन्छ ।

अतः आङ खोस्रिँदा मल होइन आत्मा भेटिनुपर्छ । दोस्रो प्रकारको गुँदी यही हो ।
हामीहरु फाट्टफुट्ट सानोतिनो यात्राको लागि अघिल्ला केही दिनहरुबाटै पूर्व तयारी गर्न थाल्दछौँ । के के सामान लाने ? कस्ता कपडाहरु लाने ? सामलतुमल के लाने ? आदिको चाँजोपाँजो मिलाउन थालिहाल्छौँ । तर जीवनयात्राको अवश्यम्भावी अन्तिम र नितान्त एक्लो यात्रामा के लाने भन्ने विषयतिर परवाह नै गर्दैनौँ । अन्तिम यात्रामा संस्कार बाहेक आफूसँग लान मिल्ने कुरा अरु के नै पो हुन्छ र ? उल्लिखित उदाहरणहरुमा वर्णित लोभ, अहंकार, बेइमानी, क्रोध, मोहलाई नै अन्तिम यात्राको क्रममा साथमा लैजानु कत्तिको फलदायक होला ?
उल्लिखित सम्बन्धमा धार्मिक वा वैज्ञानिक बहसको निचोड पृथक हुन सक्ला तर संस्कार सिक्नु मानवोचित आधारभूत आवश्यकता हो । मलाई यस्तै संस्कार सिक्ने र सिकाउने मित्रहरुको खाँचो छ ।
आवरणकुण्डमा डुब्न थालेपछि संस्कार सिकाउनेहरुको खाँचो हुँदैन । एकसे एक फेसबुक फ्रेन्डहरु छन् अरुलाई संस्कार सिकाउन दख्खल राख्नेहरु । तर जुकरवर्गको विशाल आवरणकुण्डमा सिक्नेहरु भने विरलै पाइएलान् । मानौँ संस्कारका अनगिन्ति डोरीहरु आवरणकुण्डमा झुण्डिरहेका हुन्छन्, कपि गर्‍यो, पेष्ट गर्‍यो वश्, संस्कार सिकाइहलिन्छ । संस्कार जस्तो नितान्त निजात्मक कुरा पनि कपि पेष्टमा सिमित तुल्याउन क्षमता राख्ने वाह आवरणकुण्डका मित्र ! मान्नैपर्छ तपाईँलाई ।
यदि तपाईँले आफूले सिकेर नै अरुलाई सिकाउन खोजिरहनुभएको हो भने तपाईँ धन्यवादका पात्र हुनुहुन्छ । त्यो संस्कारले तपाईँको अन्तिम यात्रामा तपाईँलाई नै साथ दिनेछ । साथसाथै अरुहरुको संस्कारमा पनि अभूतपूर्व परिवर्तन ल्याइदिनेछ ।
……………………………………………………………..
………………………………………………………………
तसर्थ मेरो आग्रह छ, बाग्मतीजी, मेरो आवरण हेरेर मात्र फ्रेन्ड रिक्वेष्ट नपठाउनुहोस् । मेरा आवरणसँग मिल्ने थुप्रै आवरणहरु तपाईँको मेलबक्समा नै थन्किएर रहेका छन् । बरु मेरो आचरणसँग मिल्ने आचरण आवरणकुण्डमा खोजेर हेर्नुहोला । अतः यो मेरो परिचयपत्र पढिसकेपछि पुनः रिक्वेष्ट पठाउनुभयो भने मैले पनि मेरो परिचयलाई एसेप्ट गरेको ठान्नेछु र अनि मात्र तपाईँको रिक्वेष्ट एसेप्ट गर्नेछु भन्ने वाचा गर्दै अहिलेलाई तपाईँको पहिलो रिक्वेष्ट रिमुभ गर्दैछु नरिसाउनुहोला ल ?
पत्र पढिदिएकोमा धन्यवाद् ।

तपाईँको सम्भावित आवरणकुण्ड मित्र
……………………………………………………….